युनुस अन्सारी कैदमुक्त भएलगत्तै पक्राउ, जिल्ला अदालत काठमाडौंद्वारा अनुसन्धानका लागि पाँच दिनको अनुमति

लोकपथ
3.1k
Shares

काठमाडौं ।  नक्कली भारतीय नोट प्रकरणमा कैद सजाय भुक्तान गरी छुटेका युनुस अन्सारीविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाएको छ ।

नख्खु कारागारबाट ६ वर्ष कैद भुक्तान गरी शनिबार मात्रै मुक्त भएका अन्सारीलाई लगत्तै सीआईबीले नियन्त्रणमा लिएको थियो ।

सीआईबीले उनी कैदमुक्त हुने भएपछि अनुसन्धानका लागि उपस्थित गराइदिन कारागार व्यवस्थापन विभागलाई बुधबार मात्रै पत्र पठाएको थियो । त्यही पत्रका आधारमा कारागारबाट रिहा भएलगत्तै अन्सारीलाई अनुसन्धानका लागि शनिबार नियन्त्रणमा लिइएको थियो ।

अन्सारीलाई अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइको छ । यसका लागि अन्सारीलाई आजै अदालत उपस्थित गराइएको थियो । 

सीआईबीका एसएसपी होबिन्द्र बोगटीले उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले पाँच दिनको म्याद दिएको बताए । 

‘सम्पत्ति शुद्धीकरण सजाय निवारण ऐन २०६४ अनुसार उनको मुद्दा बाँकी नै रहेको हुँदा कैद भुक्तान गरिसकेर आएको हुँदा थप अनुसन्धान गर्न ल्याएका हौँ,’ उनले भने ।

अन्सारी पहिलो पटक १३ पुस २०६६ मा २५ लाख ४४ हजार ५ सय भारतीय जाली नोटसहित पक्राउ परेका थिए । उनी अर्को महिना १७ माघमा कारागार चलान भएका थिए । त्यतिबेला उनी नेसनल टेलिभिजनका अध्यक्ष थिए । ६ असोज २०६७ मा पुनः ४० लाख ९१ हजार जाली नोट बरामद हुँदा पनि अन्सारी जोडिएका थिए । त्यसपछि करिब ५ वर्ष कैद सजाय भुक्तान गरेर उनी १८ असोज २०७० मा छुटेका थिए ।

तेस्रोपटक १० माघ २०७० मा पुनः ३५ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका अन्सारी फेरि सजाय भुक्तान गरी छुटे । १० जेठ २०७६ मा पुनः ७ करोड ६७ लाख ९४ हजार भारतीय जाली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परेका थिए । त्यसपछि उनलाई अदालतले दोषी ठहर गर्दै ६ वर्ष कैद, ६० हजार जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो । त्यही कैद सजाय उनले शनिबार भुक्तान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?