काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को सचिवालयले वडा नम्बर १७ का अध्यक्ष तथा महानगरका प्रवक्ता नवीन मानन्धरलाई स्पष्टीकरण सोधेको छ । अभिव्यक्ति स्वतन्त्रताको सीमाभन्दा बाहिर रहेर व्यक्तिगत चरित्र हत्या, सामाजिक प्रतिष्ठामा गम्भीर आँच पुर्याउने कार्य गरेको भन्दै बालेनको सचिवालयले मानन्धरलाई स्पष्टीकरण सोधेको हो ।
प्रवक्ता मानन्धरले आफूलाई बालेनको सचिवालयले स्पष्टीकरण सोधेको पुष्टि गरे । उनले मेयर बालेनको सचिवालयबाट आफूलाई स्पष्टीकरण लिन आउनु भनेर फोन आएको बताउँदै आफू पत्र लिन नजाने पनि प्रस्ट पारे ।
मेयरको सचिवालय प्रमुख शान्ता पहाडीको हस्ताक्षर रहेको पत्रमा भनिएको छ, “अझ विशेषतः जनताको मतबाट निर्वाचित जनप्रतिनिधि जस्तो गरिमायुक्त पदमा रहनुभएका व्यक्तिबाट यस्ता आधारहीन, अनौपचारिक र अमर्यादित अभिव्यक्ति सार्वजनिक रूपमा दिनु शोभायुक्त कार्य होइन भन्ने कुरा समेत स्मरण गराइन्छ ।”
अभिव्यक्ति स्वतन्त्रताको सीमाभन्दा पर गएर व्यक्तिगत चरित्रहत्या, मानहानि तथा सामाजिक प्रतिष्ठामा गम्भीर आँच पुर्याउने कार्य भएको विज्ञप्तिमा उल्लेख छ । “यस प्रकारका अभिव्यक्तिहरूले अभिव्यक्ति स्वतन्त्रताको सीमाभन्दा पर गएर व्यक्तिगत चरित्रहत्या, मानहानी तथा सामाजिक प्रतिष्ठामा गम्भीर आँच पुर्याउने कार्य गरेका छन् । जुन मुलुकी फौजदारी संहिता, २०७४ बमोजिम आपराधिक मानिने तथा कानुनतः दण्डनीय हुने भएकाले, यस सम्बन्धमा सुसूचित गराउँदै गल्तीको स्वीकारोक्तिसहित भविष्यमा यस्ता गतिविधि नगर्ने भनि लिखित प्रतिवद्धता प्रमुखज्यूसमक्ष सात दिनभित्र पेस गर्नुहुन आदेशानुसार अनुरोध गर्दछु,” पत्रमा भनिएको छ ।
स्रोतका अनुसार बालेन नजिक रहेका काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई स्पष्टीकरण सोधिएलगत्तै मानन्धरलाई पनि सोधिएको हो । मानन्धरलगायतका वडाध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेश गराउने क्रममा मुख्य भूमिका खेलेका थिए । वडाध्यक्षहरूले बालेनको एकल निर्णयले महानगर नचल्ने भन्दै विरोध गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया