गृहमन्त्री लेखकको राजीनामाबारे कांग्रेसमा दुई धार, लेखकको बचाउमा सिटौला 

लोकपथ
1.1k
Shares
फाइल तस्बिर

काठमाडौं । भिजिट भिसाको आवरणमा मानव तस्करी गरेको आरोपमा गृह मन्त्रालयका अधिकारीहरू नै अनुसन्धान दायरामा तानिएका बेला गृहमन्त्री रमेश लेखकको राजीनामाका सम्बन्धमा भने कांग्रेसभित्रै दुई धार देखा परेको छ । 

सभापति शेरबहादुर देउवानिकट नेताहरू पार्टी नेता एवं गृहमन्त्री लेखकको बचाउमा उत्रिएका छन् भने इतर पक्षको नेतृत्व गरिरहेका शेखर कोइरालाले राजीनामा माग गरेका छन् । 

कोइरालाले शनिबार आयोजित एक कार्यक्रममा ‘नैतिकता’लाई समेत ख्याल गर्दै गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । 

कांग्रेस नेता कोइरालाले विगतमा समेत भ्रष्टाचारका विषय उठेपछि केही मन्त्रीले राजीनामा दिएर अनुसन्धानमा सघाएको स्मरण गर्दै शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग भनेका थिए, ‘नैतिक धरातलमा पनि उहाँले ल म छोडिदिन्छु, छानबिन गर भने हुन्छ । सामान्य कुरा हो यो त । राजनीतिमा नैतिकता भन्ने कुरा पनि त हुन्छ नि । उहाँको संलग्नता नहोला तर इस्यु आइसकेपछि आफू स्वच्छ छु भनेर देखाउन पनि छानबिन हुन जरुरी छ ।’

तर, विराटनगरमा आइतबार आयोजित पत्रकार भेटघाटमा राष्ट्रियसभा सदस्यसमेत रहेका सिटौलाले कुनै एकजना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको जिकिर गरे । कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने बताए । नेता सिटौलाले विगतमा मन्त्रीहरूमाथि नै कुरो उठेकोले राजीनामा दिएको भएपनि अहिले अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले केही समय पर्खिनुपर्ने बताए ।

गृह प्रशासन र संगठित गिरोहको मिलेमतोमा तस्करी भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रालयअन्तर्गतका कर्मचारी प्रशासन महाशाखा, अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका केही कर्मचारीलाई अनुसन्धानको घेरामा राखेको छ । 

गिरोहसँग मिलेर रकम असुल गर्दै भिजिट भिसामा नागरिकलाई विदेश पठाएको आरोपमा विमानस्थलस्थित प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईलाई बुधबार नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान गरिरहेको छ । अख्तियारका एक अधिकारीका अनुसार यसमा गृहमन्त्री रमेश लेखकको सचिवालयका कर्मचारीको समेत शंकास्पद भूमिका देखिएको छ । अख्तियारका एक अधिकारीका अनुसार यसमा गृहमन्त्री लेखकको सचिवालयका कर्मचारीको समेत शंकास्पद भूमिका देखिएको छ ।

भिजिट भिसाको आवरणमा तस्करी प्रकरणमा गृहकै सहसचिव तीर्थराज भट्टराई अख्तियारको नियन्त्रणमा परेको चार दिनपछि गृह मन्त्रालयले ‘यसमा मन्त्रालय नेतृत्व’ को संलग्नता नभएको भन्दै शनिबार प्रस्टीकरण दिएको थियो । गृहका सहसचिव छवि रिजालले शनिबार साँझ विज्ञप्ति जारी गर्दै ‘मन्त्रालयको नेतृत्वलाई जोडेर समाचार र क्रिया–प्रतिक्रिया आएकामा मन्त्रालयको गम्भीर ध्यानाकर्षण’ भएको उल्लेख गरेका छन् । यस विषयमा अख्तियारमा छानबिन भइरहेको उल्लेख गर्दै रिजालले आयोगबाट हुने छानबिन तथा अनुसन्धानसम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने’ बताएका छन् ।

गृहमन्त्री लेखकले भने आरोप साबित भए राजीनामा मात्रै नभएर राजनीति नै छाड्ने भन्दै आफूमाथि उठेका प्रश्नको प्रतिवाद गर्दै आएका छन् । उनले ‘कर्मचारीमाथि अनुसन्धान हुँदैमा मन्त्रीले राजीनामा दिँदै जाने हो ?’ भन्ने प्रश्न पनि गरेका छन् । आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट झूटो प्रचारबाजी भइरहेको मन्त्री लेखकको दाबी छ । ‘भिजिट भिसाको विषय मात्रै होइन, मेरो सार्वजनिक र राजनीतिक जीवनमा एउटा मात्रै पनि आर्थिक अनियमितता गरेको कसैले प्रमाणित गर्‍यो भने, प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु,’ उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?