काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जातीय भेदभाव र छुवाछुत जस्ता सामाजिक कुसंस्कार अन्त्यका लागि पीडित र पिडकबिच स्पष्ट सम्झौता आवश्यक रहेको बताएका छन् ।
काठमाडौंमा राष्ट्रिय समता दिवसको अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै सहमहामन्त्री परियारले जातीय विभेदको अन्त्य केवल कानूनी प्रावधानबाट नभई सामाजिक, मानसिक र नैतिक रूपान्तरणबाट सम्भव हुने बताएका हुन् ।
पीडित र पिडकबीच सम्झौता नभएसम्म जातीय भेदभाव अन्त्य नहुने उनको भनाइ छ ।
त्यस्तै उनले जातीय भेदभावको अन्त्य गर्न तल्लो तहबाट नभई नीति निर्माणको तहबाट पहल गरिनुपर्ने बताए ।
उनले भने, ‘जबसम्म पीडित र पिडकका बीचमा सम्झौता हुँदैन नि तबसम्म जातीय भेदभाव अन्त्य हुँदैन । पीडित र पिडकका बीचमा एउटा सम्झौता चाहियो । त्यो सम्झौता भनेको के हो भने आजका मितिदेखि आजसम्म हामीले जातीय भेदभाव र छुवाछुत गरेका थियौँ अब देखि गर्दैनौँ भन्ने संकल्प गर्नुपर्यो । जबसम्म पिडकले प्रतिवद्धता व्यक्त गर्दैन, जब छुवाछुत गर्नेहरुले आजदेखि गर्दिन भनेर भन्न सक्दैनन् तबसम्म अन्त्य हुदैन । जातीय भेदभाव र छुवाद्धछुत जस्तो जुन कुसंस्कार छ यसको हल तलबाट होइन माथिल्लो तहबाट शुरु गर्नुपर्छ ।’
त्यस्तै जातीय समावेशिता, समानता र न्याय सुनिश्चित गर्न कानूनी तथा सामाजिक रूपान्तरणको आवश्यकता उनको भनाइ छ ।
त्यस्तै नेपाली कांग्रेसकी सांसद सीता मिजारले जातीय विभेद अन्त्य गर्न स्पष्ट रुपमा कानूनी व्यवस्था हुनुपर्ने बताइन् । संसदमा बोलेर मात्र जातीय भेदभाव र छुवाछुत अन्त्य नहुने उल्लेख गर्दै उनले सकारात्मक आन्दोलन आवश्यक रहेको बताइन् । उनले तल्लो तहबाट दलितको मुद्दा नबोलेको आरोप लाग्ने गरेको र संसदमा बोल्नको लागि दलितको मुद्दा मात्रै छ र ? प्रश्न गरिने भएको कारण समस्या भएको उनको भनाइ छ ।
सांसद मिजारले अहिले पनि जातीय भेदभाव र छुवाछुतको विषय संक्रमणकालिन अवस्थामै रहेको उल्लेख गर्दै भेदभावको अन्त्य गर्नको लागि ठूलो आन्दोलको आवश्यकता रहेको उल्लेख गरिन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया