काठमाडौं । लेखक कल्पना रिजालको पूर्वीय दर्शन, प्रकृति र राष्ट्रियतासम्बन्धी ‘डाँफे’ कृतिको लोकार्पण गरिएको छ ।
शनिबार काठमाडौंमा एक समारोहका बिच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त लगायतले उक्त कृतिको लोकार्पण गरेका हुन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पन्तले लेखक तथा बौद्धिक समुदायलाई वैदिक साहित्य र अध्यात्मबारे लेख्न आह्वान गरे ।
उनले रामायण र महाभारतका नारी पात्रहरूको बारे लेखिएको पुस्तकहरूको अध्ययन गर्न समेत आग्रह गरे । लेखकले आफू बसिरहेको समाज र आफूसँग उपलब्ध ज्ञानका स्रोतहरू उल्लेख गरेर पुस्तक लेख्नुपर्नेमा उनको जोड छ । उनले समसामयिक समाजको सही अध्ययन र वैदिक ज्ञानको गहिरो बुझाइ नै गुणस्तरीय साहित्यको आधार रहेको बताए ।
उनले भने, ‘लेख्नेहरुले अध्यात्मको बारेमा लेख्नुस्, वैदिक साहित्यको बारेमा लेख्नुस् । हामीले महाभारत र रामायणका नारी पात्रका बारेमा लेखिएका थुप्रै उपन्यास तथा कृतिहरू पढ्नुपर्छ । लेखकले पढ्ने भनेको दुई वटा कुरा हो एउटा आफू बाँचिरहेको समाज पढ्ने हो । अर्को, आफूसँग उपलब्ध ज्ञानका माध्यमहरूलाई पढ्ने हो । त्यस कारण राम्रो लेखक हुन राम्रो पाठक पनि हुनुपर्छ ।’
राम्रो लेखक हुनलाई राम्रो पाठक पनि हुनुपर्ने मन्त्री पन्तको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया