‘समृद्धिको आधार जलविद्युत क्षेत्र हो, मुख्य प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्छ’

लोकपथ
105
Shares

काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले देशलाई समृद्धिको बाटोमा लैजा नसक्ने जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले आगामी वर्षको बजेट ल्याउनुपर्ने बताएका छन् ।  

बजेटमा निजी क्षेत्रको अपेक्षाबारेमा कुराकानी गर्दै उनले जलविद्युत क्षेत्रले नै यो मुलुकलाई समृद्धिको दिशामा डोर्‍याउन सक्ने भएकाले बजेट छरेर नल्याउन आग्रह गरे ।  उनकाअनुसार मन्त्रिपरिषद्बाट २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजना स्वीकृत भएर कार्यान्वयनमा गइसकेकाले बजेट सोहीअनुसार आउनुको विकल्प छैन ।

वरिष्ठ उपाध्यक्ष डाँगीले भने,‘मन्त्रिपरिषद्ले २८ हजार ५ सय निर्णय गर्‍यो । त्यो निर्णय गर्दा मन्त्रिपरिषद्को पूर्वाधार समितिको सभापति अर्थमन्त्री विष्णु पौडेल रहेको र अर्थमन्त्री  नै भएर मन्त्रिपरिषद्बाट पारित भएको हो । विष्णु पौडेल पूर्वउर्जामन्त्री समेत भइसकेकाले ऊर्जा क्षेत्रमा राम्रै नीति तथा कार्यक्रम ल्याउनुभएको छ । सोहीअनुसार बजेट पनि राम्रै आउने आशा गरौँ ।  देशलाई समृद्ध बनाउन सक्ने क्षेत्र कृषि, पर्यटन र जलविद्युत क्षेत्रका रूपमा लिइन्छ । तर यी तीन क्षेत्रमध्ये पहिलो जलविद्युत्, दोस्रो कृषि तेस्रो पर्यटन रहेको मेरो बुझाइ छ । कृषि दोस्रो हुनुको कारण हाम्रा दाजुभाइ धेरै विदेश पलायन भएका कारण धेरै जग्गा बाँझो हुन थालेका छन् । मान्छे धेरै विदेश गएर रेमिट्यान्शले देश चल्नुपर्ने अवस्था रहँदै आएको छ । त्यसैले तत्कालका लागि जलविद्युत क्षेत्रले देशलाई समृद्धिको बाटोमा लैजान सक्छ । धेरै छरिएर बजेट आउँदा त्यसको रिजल्ट देखिएन । त्यसैले फोकस भएर बजेट आउनुपर्छ । जुन सेक्टरले देशलाई समृद्धिको मार्गमा लैजान सक्छ त्यसैमा बजेट केन्द्रित हुनुपर्छ ।’

उनले जलविद्युत क्षेत्रमा नेपाल सरकारले निजी क्षेत्रलाई प्रवेश गराएर पछुतो मानेजस्तो आफूलाई नलाग्ने बताए । देशको क्षमता २०५७ मा २५४ मेगावाट थियो । अहिले ३५०० मेगावाट पुगेको छ । त्यस अर्थमा निजी क्षेत्रले २५ वर्षमा देशलाई मुलुकलाई लोडसेडिङ मुक्त गराउन दिएको योगदानलाई सरकारले सरहना गर्नुपर्ने डाँगीले बताए ।

उनकाअनुसार पहिले पहिले थोरै थोरै आयोजनाहरू बन्ने गर्थे  । थोरै मात्रमा मान्छेहरू जलविद्युतमा जोडिएका हुने गरेकोमा क्रमशः यो क्षेत्र अहिले व्यापक बनेको छ । ९१ वटा आयोजनाहरू लिस्टिङ भएका छन् । शेयरमा आइपीओको इस्यू उठिरहेको छ । करिब ५५ वटा प्रोजेक्टहरू त्यहाँ पनि रहेका छन् । त्यस अर्थमा यो क्षेत्र ठुलो भएको र यो क्षेत्र ठुलो भएपछि समस्या पनि धेरै ठूलाठूला आइरहेका छन् । ६०–६५ लाख डिम्याट अकाउन्टमा त्यही हाराहारीमा जलविद्युत् क्षेत्रमा शेयर होल्डर बढेका छन् । सरकारले २८ हजार ५ सयको लक्ष्य लिँदै लिएको ८१ बुँदे कार्ययोजाना बनाएको र सो कार्य योजनामा इप्पानले उठाएका अधिकांश मागहरू समेटिएकाले ती समस्यालाई कहिलेसम्म समाधान गर्ने भनेर तोकिएकाले कार्य योजनाअनुसार सरकार अघि बढ्न जरुरी रहेको उनको भनाइ छ । कार्य योजनामा कानुन बनाउनेदेखि नियमावली बनिसकेपछि कार्यविधि बनाउनेसम्मका योजनाहरू राखिएका छन् । तर ती कार्यान्वयनमा जान ढिलाइ भइरहेको छ । 

डाँगीकारअनुसार अहिले जलविद्युत क्षेत्रले भोग्नुपरेको सबैभन्दा ठुलो व्यवधान भनेको २०२९ सालमा बनेको वन ऐनमा अहिले पनि चल्नुपरेको छ । त्यति बेला वन क्षेत्र ३२ प्रतिशत वन क्षेत्र रहेकोमा अहिले ४७ प्रतिशत वनको हिस्सा पुगेको छ । त्यही बेलाको ऐनमा चल्दा समस्या सिर्जना भइरहेको छ । बनले विकास निर्माणका कार्यहरू अप्ठ्यारो पारिरहेको छ । बनका ऐन, कानुन, नीति निर्देशिकाहरुलाई सहज बनाउनुपर्छ । अहिले विद्युत् उत्पादनमा आगामी बजेट फोकस हुनुपर्छ । किनभने उत्पादन जरुरी छ । उत्पादनलाई प्रवाह गर्ने प्रसारण लाइन पनि आवश्यक छ । विद्युत् क्षेत्रमा निजी क्षेत्र अहिले पूरै लागिरहेको डाँगीले बताए । 

उनकाअनुसार सरकारले जुन लक्ष्य निर्धारण गरेको छ । आगामी १० वर्षमा निजीले बनाउन सक्छ भनेर स्वतन्त्र ऊर्जा उत्पादकहरूले भनिसकेको छ । तर त्यो उत्पादन भइसकेपछि प्रसारण लाइन चाहिने भएकाले त्यसैले अहिलेको बजेट धेरैतिर छरिने भन्दा प्रसारण लाइनमा समेत केन्द्रित गर्नुपर्छ । 

अहिले १० हजार मेगावाटको पिपिए भईसकेको छ । उत्पादन भए सो बराबरको विद्युत् विक्री गर्ने भएकाले सोही बारबारको विद्युत् उत्पादनमा लाग्न जरुरी छ । 

विद्युत् ऐन २०४९ ले जलविद्युत क्षेत्रमा निजी क्षेत्रलाई प्रवेश गराएको हो । अहिले जति पनि अनुमति पत्र दिइएको छ, सोही अनुसार दिइएको छ । विद्युत् ऐनमा जतिपति आयात गरिएर ल्याउनुपर्ने सामाग्रीहरू छन् पाइप, इलेक्ट्रोनिक समानहरू १ प्रतिशत मात्रै भन्सार तिरेर ल्याउनुपर्ने सुविधा राखिएको छ । त्यही व्यवस्थालाई प्रत्येक वर्ष ल्याइने बजेटले कटाक्ष गर्ने गरेको छ । बजेटले परिवर्तन गरिदिँदा जसको मारमा ऊर्जा उत्पादकहरू परेको वरिष्ठ उपाध्यक्ष डाँगीले बताए । नेपाल सरकारले कमाइमा कर तिरे/नतिरेको हेर्नुपर्ने तर अन्यमा धेरै चासो राख्न जरुरी नरहेको उनको भनाइ रहेको छ ।   

डाँगीकाअनुसार सरकारले राखेको २८ हजार ५ सयको लक्ष्य भेट्नका लागि सरकारले आवश्यक सुविधाहरू दिए । अब सरकारले एकद्वार प्रणालीमार्फत नीतिगत सुविधा सरकारले दिनुपर्छ । अहिले झन्डै १४ वटा मन्त्रालय, ३५ ओटा विभाग, २०० टेबलहरूमा सानातिना कामका लागि ऊर्जा उत्पादक जानुपर्छ । सरकारले चाह्यो भने एकद्धार प्रणाली सम्भव छ । ऊर्जा उत्पादकहरूको तालुकदार मन्त्रालय ऊर्जा मन्त्रालय रहेको र सोही मन्त्रालयमा एउटा अफिस खडा गरेर १४ ओटै मन्त्रालयका अधिकारीहरू नराखेसम्म ऊर्जा उत्पादकहरूको समस्या झन्झट हट्नेछैन । 

विद्युत् उत्पादन गर्ने क्षमता पछिल्लो समय बढ्दै गएकाले जलविद्युत क्षेत्रमा त्यो क्षमता प्रयोगमा ल्याउन सरकारले सहजीकरण गरिदिनुपर्ने समस्याहरू सबै पहिचान भइसकेकाले राज्यले गम्भीरतापूर्वक समाधानमा जोड दिनुपर्ने उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?