काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले भ्रष्टाचारको विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त हुने बताए।
उनले विगतमा समेत भ्रष्टाचारको विषय उठेका केही मन्त्रीहरुले राजीनामा दिएर अनुसन्धानमा सघाएको उल्लेख गर्दै राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न मन्त्री लेखकलाई सुझाव दिए ।
उनले अध्यागमनको भिजिट भिसा प्रकरणमा संलग्नता भएको विषय उठिसकेपछि आफूलाई सही साबित गर्न पनि छानबिन हुन जरुरी रहेको बताए ।
उनले भने, ‘यो कुनै नौलो कुरा होइन । यदि त्यसो हो भने मोरल ग्राउण्डमा पनि उहाँले ल म छोडिदिन्छु छानबिन गर भनेर भने हुन्छ । सामान्य कुरा हो यो त । राजनीतिमा नैतिकता भन्ने कुरा पनि त हुन्छ नि । इस्यु आएको छ । उहाँको संलग्नता नहोला तर इस्यु आइसकेपछि आफू क्लिन छु भनेर देखाउनको लागि पनि छानबिन हुन जरुरी छ ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृह मन्त्रालय समेत जोडिएको छ । यही विषयमा विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया