काठमाडौंका यी स्थानमा आज पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने

लोकपथ
1.5k
Shares

काठमाडौं । काठमाडौंका केही क्षेत्रहरुमा आज (शनिबार) विद्युत सेवा बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जानकारी दिँदै बानेश्वर र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका स्थानहरूमा साढे २ देखि पाँच घन्टासम्म विद्युत अवरुद्ध रहने जनाएको हो ।

प्राधिकरणका अनुसार, बानेश्वर वितरण केन्द्रको कोटेश्वर फिडर अन्तर्गत पर्ने फुलबारी मार्गमा ढल्न लागेको बिजुलीको पोल फेर्नुपर्ने भएकाले दुई ट्रान्सफर्मर सटडाउनमा राखिनेछ। यस कारण फुलबारी मार्ग र कोटेश्वर क्षेत्रमा बिहान साढे ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ।

यस्तै, रत्नपार्क वितरण केन्द्रका खिचापोखरी, त्रिपुरेश्वर, भोटेबहाल र न्यूरोड फिडरहरूमा पनि स्विचिङ सर्भिसिङ कार्यका लागि सटडाउन गरिने प्राधिकरणले जनाएको छ।

यसका कारण खिचापोखरी डबली, माछा बजार, आर। बी। कम्प्लेक्स, सुन्धारा, सेन्ट्रल जेल, महिला जेल, रङशाला, भोटेबहाल, न्यूरोड, वसन्तपुर, हनुमानढोका लगायतका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरुद्ध हुनेछ।

प्राधिकरणले कार्य निर्धारित समयभन्दा अगाडि सम्पन्न भएमा विद्युत आपूर्ति समयभन्दा पहिला नै पुनः सुचारु हुन सक्ने जानकारी समेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?