काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेका समर्थकहरुलाई न्यायाधीशहरुको मानमर्दन नगर्न आदेश दिएको छ ।
यसअघि सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरका न्यायाधीशमाथि विभिन्न लान्छानाहरु लगाइए सामाजिक सञ्जालमा मानमर्दन गरेको गुनासोपछि सर्वोच्चले सो आदेश दिएको हो ।
आज सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुवेदीको इजसालले रवि लामिछानेलाई थुनामै राख्न आदेश दिएको छ । यसअघि उच्च अदालतल तुलसीपुरको बुटवल इजलासले थुनामै राख्न दिएको आदेशलाई सदर गरेको हो । लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए । जिल्ला अदालत रुपन्देहीले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि लामिछाने जिल्लाको निर्णयविरुद्ध साधारण तारेखमा छाड्ने मागसहित उच्च पुगेका थिए । उच्चको आदेशपछि रवि पत्नी निकिताले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकी थिइन् । आज सर्वोच्चले उक्त मुद्दामा सुनुवाइ गर्दै थुनामै राख्न आदेश दिएको हो ।
बन्दी प्रत्यक्षीकरणको बहसका क्रममा नायब महान्याधिवक्ता र जाहेरवाला अधिवक्ताहरुले आदेशपछि न्यायाधीशरुको मानमर्दन हुने गरेको इजसालमा बताएका थिए । थुनामै राख्न आदेश दिने उच्च अदालत तुलसीपुरका न्यायाधीशमा सामाजिक सञ्जालमा विभिन्न लान्छाना लगाउँदै मानमर्दंन गरेको गुनासोपछि सर्वोच्चले सो आदेश दिएको हो ।
‘बहसका क्रममा विद्वान् नायब महान्यायाधीवक्ता र जाहेरवालाका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ एवम् अधिवक्ताहरुले उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट आदेश गर्ने माननीय न्यायाधीशहरु उपर सामाजिक सञ्जाल एवं अन्य सञ्चार माध्यममा लाञ्छानापूर्ण र अशोभनीय टीकाटिप्पणी गरेको भनी इजलासलाई अवगत गराउनु भएकाले सो तर्फ यस इजलासको गम्भीर ध्यानाकर्षण भएको छ । अदालतबाट भएका आदेश एवं फैसलाहरु उपर स्वच्छ र रचनात्मक टिप्पणीहरु सदैव अपेक्षित नै हुने भए तापनि नियोजित ढंगले न्यायाधीशहरुको मानमर्दन गर्ने र जनमानसमा भ्रमपूर्ण सन्देश प्रवाह गर्ने प्रकृतिका क्रियाकलापहरुबाट न्याय सम्पादनको कार्यमा अनपेक्षित अवरोध हुन जाने भएकाले त्यसतर्फ रहन सबै पक्षका लागि यो आदेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया