राजनीतिक समस्या हल गर्न राष्ट्रिय सहमतिमा स्थिर सरकार आवश्यक : एनपी साउद  

लोकपथ
273
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउद (एनपी)ले नेपालमा बढ्दो राजनीतिक अस्थिरता र भ्रष्टाचारको समस्या समाधानका लागि स्थिर सरकारको आवश्यकता रहेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता साउदले यस्तो बताएका हुन् ।  

उनले राजनीतिक अस्थिरताको जड नै वर्तमान संसदीय  प्रणालीमा रहेको उल्लेख गर्दै राष्ट्रिय सहमति गरेर पाँच वर्षसम्म स्थिर सरकार बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।  

नेता साउदले सरकारी कर्मचारीहरूलाई जीविकोपार्जनका लागि पर्याप्त स्रोत उपलब्ध गराउन नसकिएको कारण अनैतिक गतिविधिहरू बढेको उल्लेख गरे । 

राज्य संयन्त्रमा कार्यरत कर्मचारीहरूले पर्याप्त सेवा सुविधा नपाउँदा भ्रष्टाचारजन्य काम गर्ने गरेको उनको तर्क छ । उनले अव्यवस्थित पूर्वाधार निर्माणका कारण मुलुकको आर्थिक विकास हुन नसकेको पनि बताए । उनले पूर्वाधार निर्माण गर्नु पूर्व वातावरणीय अध्ययन गर्न जरुरी रहेको बताए । 

उनले भने, ‘राजनीतिक अस्थिरताको बीउ हाम्रो ढाँचामा पनि छ कि जस्तो लाग्छ । त्यस कारण एउटा राष्ट्रिय सहमति बनाएर कमसेकम चार/पाँच वर्षसम्म एउटा सरकार बन्नसक्ने किसिमले र स्थिर सरकार बन्ने किसिमले हामी कसरी अगाडि बढ्न सक्छौँ त्यो हिसाबले हेर्नुपर्ने आवश्यकता म देख्छु । अर्को, हामी सधैँ भ्रष्टाचारको कुरा गरिरहेका छौँ । कारबाही पनि भइरहेकै अवस्था हो भएकै छैन भन्ने होइन । तर भ्रष्टाचार किन घटिरहेको छैन त ? मान्छेहरू भ्रष्टाचारसँग किन डराइरहेका छैनन् ?  हामीले सरकारी कर्मचारीहरूलाई जीविकोपार्जनको लागि पर्याप्त मात्रामा स्रोत उपलब्ध गराउन सकिरहेका छैनौँ कि । उनीहरूका आवश्यकता पूरा गर्न सकिरहेका छैनौँ । अहिले नैतिक र अनैतिक कुराहरूको बिचमा चाहिँ सामाजिक रिस्पेक्टमा चाहिँ विभेद भयो । सबैले अहिले पैसा भए भयो त्यसको स्रोत जेसुकै होस् भन्ने कारणले भइरहेको छ कि ।’

उनले बजेटलाई प्रतिफल दिने योजनाहरूमा भन्दा राजनीति फाइदाको हिसाबले विनियोजन गर्दा मुलुकमा आर्थिक संकट बढ्दै गएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?