काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई जनविरोधी क्रियाकलापहरू नगर्न चेतावनी दिएका छन् । कास्कीमा राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
उनले राजतन्त्र फर्किने भ्रममा कोही पनि नपर्न आग्रह गरे । उनले अहिलेका आन्दोलनहरू केही समयका लागि उचालिएका गतिविधि मात्रै भएको जिकिर गरे ।
उनले पूर्व राजा शाह दरबार हत्याकाण्डपछि भवितव्यले राजा भएको बताउँदै पूर्व राजा शाहले गरेको कामहरू पनि देखेको बताए । कुनै प्रकारका जनविरोधी क्रियाकलापहरूको चेष्टा हुन्छ भने जनशक्तिले त्यस्ता चेष्टालाई धुलो चटाउने बताए ।
उनले भने, ‘कुनै प्रकारका भ्रममा पर्नुपर्ने आवश्यकता छैन । यी ट्वार ट्वारहरु अलिक समयका ट्वार ट्वार टुर टुर हुन् । पछि आफैँ समाप्त हुन्छन् । हामीले पहिला पनि देखेका हौँ । अढाई सय वर्षदेखि देखेका हौँ । अढाई सय वर्षमा केके भए । म त्यतापट्टि जान चाहन्न । हामीले देखेका हौँ राजतन्त्र । त्यसबाहेक दरबार हत्याकाण्डपछि हामीले लखेटेकै पूर्व राजा भनिएका, भवितव्यले राजा भएका ज्ञानेन्द्र शाहले गरेको काम पनि देखेका छौँ । तीन वर्ष शासन हातमा पार्दा कानमा घुसेको कन्सुत्लो जस्तो उफ्रेको उफ्रै, चिथोरेको चिथोरै । कानमा कन्सुत्लो परेर चिथर्यो भने कस्तो हुन्छ कान ? तर त्यस्तो पीडादायक समय जसले गर्दा जनता उठ्नपर्यो । खालि हातका जनता १९ दिन सडकमा उत्रिनुपर्यो । १९ दिनपछि हतियारधारी राजालाई घुँडा टेकाएको हो । फेरि पनि कुनै प्रकारका जनविरोधी क्रियाकलापहरूको चेष्टा हुन्छ भने जनशक्तिले त्यस्ता चेष्टालाई धुलो चटाउनेछ । त्यस्ता चेष्टा नगर्न चेतावनी दिन चाहन्छु ।’ प्रधानमन्त्री ओलीले प्रतिगमन रोक्न र देशको रक्षा गर्न अग्रभागमा नेकपा एमाले रहने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया