काठमाडौं । गत चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको घटनामा प्रहरीले रायसहितको प्रतिवेदन बुझाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुने घटनाको झण्डै तीनमहिना अध्ययन अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको हो ।
प्रहरीको प्रतिवेदन आज आइपुगेको र आइतबार मुद्दा दर्ता गरिने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता तथा सुचना अधिकारी चन्द्रप्रसाद संजेलले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता हुँदैछ । साथै अन्यको हकमा भने आपराधिक उपद्रव र भाटभटेनी लगायत लुटपाटमा संलग्नहरुविरुद्ध छुट्टै मुद्दा दर्ता हुनेछ ।
‘राजसहितको प्रतिवेदन प्रहरीबाट आइपुगेको छ । हामी अध्ययन गरेर आइतबार मुद्दा दर्ता गर्नेछौँ,’ संजेलले लोकपथसँग भने ।
गत चैत १५ गते नवराज सुवेदीको नेतृत्वमा गठित संयुक्त जनआन्दोलन परिचालन समितिले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेको थियो । उक्त समितिले आन्दोलनको मुख्य कमाण्डर दुर्गा प्रसाईँलाई बनाएको थियो ।
आन्दोलनका क्रममा ५५ जना नेपाल प्रहरी, ५४ जना प्रदर्शनकारी र २५ जना सशस्त्र प्रहरी घाइते भएका थिए । साथै २ जनाको मृत्यु समेत भएको थियो ।
प्रदर्शनका क्रममा १८ वटा भवनमा तोडफोड, १२ वटा भवनमा आगजनी र ३९ वटा सवारी साधनमा आगजनी भएको थियो ।
यो पनि
‘ग्राउण्ड जिरो’ तीनकुने : प्रहरी रहेको भन्दै ढुंगा हानिएको घरमा मैले जे देखेँ…
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया