भ्रष्टाचार नियन्त्रण गर्न सबैको प्रतिबद्धता र सक्रियता आवश्यक : पूर्वप्रधानमन्त्री भट्टराई

लोकपथ
63
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरिबी र बेरोजगारीको दुष्चक्रबाट नेपाल माथि उठ्नसक्ने सम्भावना बढेको बताएका छन् । 

मणिकर कार्कीको पुस्तक अर्थदृष्टि लोकार्पण समारोहमा बोल्दै उनले नेपालले २१ औँ शताब्दीमा विश्वसँग पदचाप मिलाएर जानसकेमा अल्पविकसित, गरिबी, बेरोजगारी र परनिर्भरताको अन्त्य हुने बताएका हुन् ।  

उनले हामीहरूले लोकतन्त्र ल्यायौँ, विश्वका नागरिक सरहको राजनीतिक अधिकारहरू लेखेको भए पनि परिवर्तनबाट वित्तीय संस्था, राजनीतिक संस्था र भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरूलाई बलियो बनाउन नसक्दा पछि पर्दै गएको स्पष्ट पारे । 

अबको विकास एशियाली मुलुकहरूतर्फ बढिरहेकोले नेपालले पनि विश्वसँग पदचाप मिलाउँदै अघि बढ्नु आजको आवश्यकता भएको डा. भट्टराईको भनाई थियो । उनले हिजोको साम्यवादले आज काम नहुने भन्दै नाम जेसुकै दिए पनि वृद्धि, वितरण, दिगोपन र खुशीपन सहितको सन्तुलन भएको बाटो नै अबको बाटो भएकाले यसतर्फ गम्भीर हुनुपर्ने समय आएको बताए । 

उनले भने, ‘नेपालमा हामी सबै समृद्धिको निमित्त जुन चिन्ता गरिरहेका छौँ, विभिन्न नाराहरू विभिन्न पार्टीहरू र व्यक्तिहरूले आफ्नै ढंगले लगाउँदै आएका छौँ । तर वर्षौँदेखि हामी फेरि अल्पविकास गरिबी बेरोजगारी र परनिर्भरताको जुन दुश्चक्रमा फसेका छौँ त्यसबाट निस्कने अनेक प्रयत्न गर्दागर्दै सकिरहेका छैनौँ । त्यसले एउटा गम्भीर विमर्शको माग चाहिँ गर्छ । त्यसैले यो पुस्तकको महत्त्वपूर्ण पक्ष पनि विचार विमर्शको माग हो । अब नेपालले विश्वसँग पदचाप मिलाएर जान सक्यो खास गरी छिमेकका दुई ठुला अर्थतन्त्र भएका मुलुकसँग पदचाप मिलाएर जान सक्यो भने नेपाल पनि गरिबी, बेरोजगारीको जुन दुश्चक्रमा परेका छौँ त्यसभन्दा माथि उठ्नसक्ने सम्भावना बढेको छ । यदि यसैलाई ध्यान दिएर हामी अगाडि जाने हो । तर किन यो भइरहेको छैन भने हामीले लोकतन्त्र ल्यायौँ, विश्वका नागरिक सरहको राजनीतिक अधिकारहरू त लेख्यौँ, इच्ष्टिच्यूटहरु हामी बनाउँदैछौं, चेतना शिक्षा पनि फैलिँदैछ । अब हामीले संरचना बलियो सकेनौँ । त्यसैले अब संरचना बलियो बनाउनेतर्फ लाग्नुपर्छ । तर, हामीले यसबाट पाठ सिकेर राजनीतिक परिवर्तन भए पनि वित्तीय संस्थाहरू, राजनीतिक संस्थाहरू, भ्रष्टाचार नियन्त्रण गर्ने संस्थालाई बलियो बनाउँदै आर्थिक स्तरबृद्धितर्फ लाग्नु आजको आवश्यकता हो । त्यसैले अबको विकास एसियाली मुलुकहरूतर्फ बढिरहेकाले विश्वसँग पदचाप मिलाउँदै अघि बढ्नु नै आजको आवश्यकता हो । त्यसै गरी पर्यावरण सन्तुलन कायम गर्नेतर्फ पनि काम गर्नु आजको मुख्य आवश्यकता हो । हिजोको साम्यवादले काम हुँदैन तर नाम जेसुकै नाम दिए पनि वृद्धि, वितरण, दिगोपन र खुशीपन सहितको सन्तुलन भएको बाटो नै अबको बाटो भएकोले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । दलका आआफ्ना राजनीतिक प्रतिबद्धता हुन्छन् तर देशको हकमा भने साझा धारणा बनाउनुपर्छ । त्यसले समृद्ध नेपाल बन्छ ।’ 

उनले अर्को मुख्य विषय भनेको पर्यावरण सन्तुलन कायम गर्नुपर्नेतर्फ काम गर्नुपर्नेमा पनि जोड दिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?