जेठ १५ को प्रदर्शनका लागि राजावादीको तयारी तीव्र : मानवअधिकार आयोगमा पुगे नेताहरु

लोकपथ
1.9k
Shares

काठमाडौं । राजतन्त्र पुनस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिले राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

आगामी जेठ १५ गते हुने प्रदर्शनलाई लक्षित गर्दै राप्रपा, राप्रपा नेपालसहित राजावादी शक्तिहरुले आयोगको ध्यानाकर्षण गराएका हुन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरुले पूर्ण रुपले शान्तिपूर्ण आन्दोलन गर्न लागेको समेत बताएका छन् । साथै राज्यबाट दमन हुनसक्ने र हिंसा भड्किन सक्ने भन्दै ध्यानाकर्षण गराएको जानकारी गराए ।

‘आज हामी मानवअधिकार आयोग गयौँ र जेष्ठ १५गते हुने आन्दोलन हाम्रो तर्फबाट पूर्णरूपले शान्तिपूर्ण हुने तर सरकारको तर्फबाट हुन सक्ने दमन र हिंसाको सम्बन्धमा आयोगको ध्यानाकर्षण गराएकाछौँ,’ उनले भने ।

सो क्रममा लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, समितिका संयोजक नवराज सुवेदी, पूर्वमन्त्री केशरबहादुर विष्ट लगायत नेताहरु आयोगमा पुगेका थिए ।

संयुक्त जनआन्दोलन परिचालन समितिले आगामी जेठ १५ गते काठमाडौंमा राजतन्त्र पुनस्थापना र हिन्दूराज्यको मागसहित प्रदर्शन गर्दैछ । त्यसो त उक्त प्रदर्शनमा शक्ति आर्जनका लागि विभिन्न राजनीतिक दल र समूहहरुलाई समेत जोड्न संयुक्त जनआन्दोलन समिति लागिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?