नेपालगञ्ज । पूर्वखेलाडीहरुको सक्रियतामा नेपालगञ्जमा आजदेखि प्रथम नगर स्तरीय ‘मेयर कप’ ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
पूर्व खेलाडी समाज बाँकेको आयोजना र नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको ब्याडमिन्टन प्रतियोगिताको नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्दै नेपालगञ्ज खेलाडीहरूको उर्वर भूमि भएको बताए।
उनले नयाँ खेलाडी उत्पादनका लागि पूर्व खेलाडी समाजको कदम सराहनीय रहेको भन्दै प्रतियोगितालाई निरन्तर रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। खेलाडी उत्पादन गर्ने प्रमुख थलो विद्यालय भएकाले विद्यालय स्तरबाटै खेलकुदमा लगानी गर्न पालिकाले प्रयास गरिरहेको नगरप्रमुख विष्टको भनाइ छ ।
समाजका कार्यवाहक अध्यक्ष निजामुद्दिन सिद्धिकीले खेलकुदमा योगदान दिएका पूर्व खेलाडीलाई एकीकृत गर्दै खेल क्षेत्रको संवर्द्धन र विकास गर्ने उद्देश्यले गत वर्ष पुसमा पूर्व खेलाडी समाज बाँके गठन गरिएको जानकारी दिए । उनले आगामी दिनमा समाजलाई थप क्रियाशील बनाउँदै लैजाने बताए।
समाजले नेपालगञ्ज रङ्गशालास्थित कभर्डहलमा यु–१५ ब्वाइज सिङ्गल र मेन्स डबल बी लेबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ब्वाइज यु–१५ तर्फ ३७ जना र मेन्स डबल्सतर्फ ३२ टोलीको सहभागिता रहेको प्राविधिक प्रमुख जयन्तकुमार श्रेष्ठले जानकारी दिए । ब्वाइज यु–१५ तर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, पाँच हजार र दुई हजार ५०० तथा मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु २० हजार, रु १० हजार र रु पाँच हजार नगद पुरस्कार प्रदान गरिने छ । समाजले यही जेठ १६ देखि १८ गतेसम्म विद्यालय स्तरीय महिला एवं पुरुष भलिबल प्रतियोगिता पनि आयोजना गर्दैछ । प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः रु २० हजार, १५ हजार र १० हजार पुरस्कार प्रदान गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया