काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा केही समययता सगरमाथा आरोहणको तयारीमा रहेका छन् ।
सगरमाथा आरोहणको अनुमति समेत लिएका शर्माले यसपाली सगरमाथाको आधार शिविर (बेसक्याम्प) मा मात्रै पुग्ने तयारीका साथ हिँडेका थिए । तर स्वास्थ्य र आत्मविश्वासले ‘फाइनल’ यानेकी सगरमाथा आरोहण नै गरेर फर्किने मनस्थितिका साथ तयारीमा जुटेका हुन् ।
तालिम र आत्मविश्वासले आफू त्यसभन्दा माथि जान सक्ने तर मौसमका कारण दोधारमा रहेको समेत सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।
आरोहण मात्रै नभएर त्यहाँबाट सफलतापूर्वक झर्नु उत्तिकै महत्वपूर्ण रहेको बताउँदै आफ्नो शेर्पा गाइडहरुसँग बिहीबार सरसल्लाह गरेर निर्णय लिने बताएका थिए ।
बिहीबार उनले सामाजिक सञ्जालमा लेख्दै कांग्रेस सांसद समेत रहेका महामन्त्री शर्माले भनेका छन् :
मे २९ मा सगरमाथा आरोहण ‘क्लोज’ हुन्छ । समय केवल ६ दिन बाँकी छ । चैत दोस्रो सातातिरै बेसक्याम्प पुगेकाहरु अहिले कोहि आरोहणमा छन्, कोही तेस्रो–चौँथो क्याम्पमा ‘क्यु’ मा छन् । म यसपाली ‘सेमिफाइनल’ बेसक्याम्पसम्म भनेर वैशाख २७ मा पुगेको मान्छे, ट्रेनिङ सकाएको लगत्तै क्याम्प १ हुँदै क्याम्प २ पुगेको छु । अब यहाँबाट ‘फाइनल’ अघि बढुँ कि, फर्कु कि, या ‘रोटेसन’ मा जाउँ ? शेर्पा साथीहरूसँग आजको साँझ परामर्शमा छु ।
रोटेसन भन्नाले ?
८००० मिटर भन्दा माथिको हिमाल आरोहण गर्ने क्रममा ६००० मिटर माथिको उचाइमा पुगेपछि ‘एक्ल्मटाइज’ गर्न फेरि १५०० देखि २००० मिटर तल तर्फ आरोहीलाई फर्काइँदो रहेछ । त्यसरी तल फर्किन्दा यात्रामा थप अभ्यस्त हुन र एकसाता जती आराम गर्न अनुकुल हुँदोरहेछ । यहि प्रक्रियालाई । ‘रोटेसन’ भनिँदो रहेछ ।
सफल आरोहण र अवतरण गर्न ‘रोटेसन’ अत्यन्तै महत्त्वपूर्ण मानिँदो रहेछ । भारतीय सैनिकको एउटा टिम ७२०० मिटरको क्याम्प ३ बाट फर्किएर ४४१० मिटरको दिङ्बोचेमा ‘रोटेसन’ र आरामका लागि पुगेको मैले बैशाख २४ मा भेटेको थिएँ । अहिले बुझ्दैछु ४०र४२ दिनको समय किन लाग्दो रहेछ िभारतीय सैनिकको टिम आज जेठ ८ गते क्याम्प २ं४ पुगिसकेको छ । आरोहण संभवत भोलि ।
छोटो रोटेसन लिने कि अघि बढ्ने ? दुई विकल्प
आँट र ‘स्टेमिना’ निरन्तर साथ छन् । ‘हाइ एल्टिच्युड’ सँग जुध्दै नै छु । ‘टाउको दुख्ने’ या ‘जिउ फतक्क गल्ने’ स्थितिबाट हालसम्म मुक्त छु । थोरै अनुभव, केही प्रशिक्षण र यहाँहरुको शुभेच्छा साथ छँदैछ । त्यसैले ‘रोटेसन’ मा बेसक्याम्प झर्ने एउटा विकल्प भएपनि, समयको चाप दृस्टिगत गरेर भोलि जेठ ९ गते झिसमिसेमै क्याम्प ३ तर्फ मुभ हुनु उपयुक्त हुन्छ कि ? आजको साँझ यो टुंगो गर्दैछौं ।
यद्यपि उक्लनु भन्दा ओर्लनु कठिन
प्रशिक्षणमा म सबल उतिर्ण भएको उक्लिनमा हो । ओर्लिनमा मेरो दक्षताको चित्तबुझ्दो प्रगति, न मैले महसुस गरेको छु, न शेर्पा साथीहरूले गर्नुभएको छ । त्यसैले अझैमाथि उक्लनुपुर्व ओर्लने क्षमता थप विकास गर्नुछ, ‘रोटेसन’ ले त्यो अभाव पुर्ती गर्नेछ भन्ने मानसिक र व्यवहारिक दबाब छ । श्रद्देय पासाङ ल्हामुलाई स्मरण गर्दैछु । सफल आरोहण गर्नुभयो तर अवतरण क्रममा सदैवका लागि बिदा लिनुभयो । त्यसैले ‘पिकको नजिक पुग्नै त लागें’ भन्ने भावनात्मक आवेग भन्दा अवतरण योग्यता विकासका लागि ‘रोटेसन’ र ‘हाइकिङ’ को व्यवहारिक सतर्कताप्रती पनि म उत्तिकै गम्भीर छु । आजको साँझ यसबारे निधो लिनुछ ।
मे २९ मा क्लोज किन ?
तेन्जिङ शेर्पा र एडमण्ड हिलारीले प्रथम पटक सगरमाथा आरोहण गरेको मिति मे २९, ‘अन्तर्राष्ट्रिय एभरेस्ट डे’ का रूपमा यो दिनलाई मनाइन्छ । यही दिनलाई आरोहण सिजनको अन्तिम दिन मानिन्छ । (मे २९) को अन्तिम मिति राख्नुको अर्को कारण त्यसपछि मौसम थप बिग्रने अनुभव पनि रहेछ । जेठ १५–१६ तिर र त्यसपछि हिमपात र हिमपहिरोको प्रकोपबाट आरोहीहरुको जीवन रक्षाका लागि ‘समिट क्लोज’ स्वभाविक नै हो ।
यता महामन्त्री विश्वप्रकाश पत्नी कविता शर्माले सामाजिक सञ्जालमा लामो भावुक स्ट्याटस लेख्दै मौसम हेरेर मात्रै निर्णय गर्न सुझाव दिएकी छन् । यसपाली आधार शिविरसम्म मात्रै जाने भनेर हिँडेकोमा आत्मविश्वासले आरोहण नै गर्न लागेको बताउँदै
उनले लेखेकी छन्, ‘मध्यरातमा पनि झसंग–झसंग हुँदै फोन आयो कि मेसेज आयो कि भनेर हेरिरहेँ । कुनै पल पनि फोन छेवैमा राखिरहेँ । नेटवर्क नहुने तर दिउँसो घाम लाग्दा मात्र सोलारमार्फत आएको नेटले दुई दिन पछि कुरा हुँदा मन एकदमै भक्कानियो, मेरो आँशुले उहाँलाई कमजोर नबनाओस् भनेर आँशु लुकाएँ ।’
त्यतिमात्र नभइ पार्टी महामन्त्री हैसियतमा सगरमाथा आरोहण गर्ने विषयले धेरैको सुभेच्छा प्राप्त भएको समेत बताएकी छन् । यसअघि ६ हजार १ सय मिटर माथिको लोबुचे हिमाल आरोहण गरेपछि उनमा थप आत्मविश्वास पलाएको समेत उनले उल्लेख गरेकी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन् :
हिमाल आरोहणमा जानुभएका श्रीमानका प्रति श्रीमतीको भावना
केहि दिन यतादेखि हजुरलाई माया गर्ने परिवारजन, आफन्त, साथिभाई, राजनीतिकर्मीहरुले धेरैभन्दा धेरै फोन सम्पर्क गरिरहनु भएको छ। जब हजुर फोन नेटको सम्पर्कबाट बाहिर हुनुभयो, सबैले धेरै चासो र जिज्ञासा राखेर मलाई सोधिरहनुभएको छ। कहाँ पुग्नुभयो ? तपाईसँग सम्पर्क भएको छ कि छैन ? हामी त उहाँले हिमाल चढ्ने आट हिम्मत देखेर अत्यन्तै खुशी छौं तर सम्पर्क नहुंदा आत्तिएका पनि छौं। अनि केहि माया गर्ने व्यक्तिहरुको चासोको विषय यस्तो पनि छ, “हैन ! कसरि यस्तो सोच आयो ? कत्रो हिम्मत गरेको को हो ? तपाइले कसरि पठाउनुभयो ?”, यस्ता यावत प्रश्नहरुको जवाफ धेरैभन्दा धेरै फोनमार्फत जिज्ञासा राख्नुहुने हजुरका सुभेक्षुकहरुलाई दिदै आएकी छु ।
अफ़टयारोमा सम्झिने नै आफ़्नो हुने रहेछ
हरेको मानिसको आ-आफ्नै सपना हुदो रहेछ; लक्ष्य हुदो रहेछ। उहाँको सगरमाथा आरोहण गर्ने सपना र लक्ष्यका लागि केहि वर्ष यता उहाँले नियमितरुपमा फुटसल खेलेर स्वस्थ बनाएको शरीर र खानपानमा समेत सचेत भएको कुरा नजिकबाट नियाल्दै र साथ दिदै आएकी थिए। अघिल्लो पटक लोबुचे हिमाल आरोहण गरेर आएपछि त्यहाँको अनुभवले उहाँमा थप उर्जा थपियो; र यहि चैत्र महिना मै जाने निर्णय गर्नुभएको थियो; तर पार्टीको केहि जिम्मेवारी पुरा गर्नु पर्ने र पार्टीका केहि महत्वपूर्ण बैठकहरुमा उपस्थित हुनुपर्ने नै भयो, संगसँगै शिक्षकहरु सडकमा आन्दोलन गरिरहेको अवस्था थियो। त्यो बेलामा उहाँ आफ्नो जिम्मेवारी पुरा गर्दै शिक्षकहरु जस्तै तेजु सर, तोया सरदेखि देशभरिका शिक्षकहरुसँग नियमित सम्पर्क सम्बादमा उहाँहरुका माग पुरा हुन् भनेर लागिरहनु भएको कुरा मैले नजिकबाट सुनिरहेको थिएँ। यस्तै केहि जिम्मेवारीहरु पुरा गर्दागर्दै जाने मिति अलि पछि धकेलियो यद्यपि यो पटक उहाँले बेस क्याप सम्मको यात्रा तय गरेर हिडनु भएको थियो तालीमको क्रममा अझ माथी जाने हिम्मत आएछ
आज मात्र मेरो उहाँसँगै रहेका दुईजना शेर्पा भाइहरुसँग कुरा भयो र उहाँहरुको भनाइ पनि मौसम त्यति अनुकुल नरहेको र आरोहण गर्ने मिति अलि ढिला नै भएको कुरा बताउनुभयो। अब सगरमाथाको शिखर पुग्नका लागि १५०० मीटर मात्र रहेको बताएपछि मैले उहाँहरुलाई सोधे, “दाइको स्वास्थ्य कस्तो छ ? जान सक्ने अवस्था छ कि छैन ?,” भन्दा भाइहरुले भन्नुभयो, “दाइ एकदम दरो छ, हिड्न पनि सक्छ तर मौसमले के गर्छ ? मौसम राम्रो भएन भने अर्को सिजन पर्खिनुपर्छ,” । यति सुनेपछि मन अलि शान्त भयो। घरमा श्रीमती, छोरा-छोरी आत्तिएलान् भनेर उहाँका अफ्ठ्यारा परिस्थितिहरु हामीलाई नभनेको हुन सक्छ भनेर मैले शेर्पा भाइहरुसँग आफै सम्पर्क र सम्बाद गरे।
उहाँ घरबाट हिडेको दिनदेखि नियमितरुपमा फोन सम्पर्क मै हुनुहुन्थ्यो। त्यहाँका सबै भिडिओहरु पठाई रहनु हुन्थ्यो। छोरा-छोरीसँग भिडिओ कलमा जिस्कीरहनुहुन्थ्यो। बेसक्याम्पबाट माथि चढेपछि टेलिफोन-नेट सम्पर्क नहुदा जीवन कै सबैभन्दा ठुलो छटपट्टि, डर र चिन्ता लाग्यो। मध्यरातमा पनि झसंग-झसंग हुदै फोन आयो कि मेसेज आयो कि भनेर हेरिरहे। कुनै पल पनि फोन छेवैमा राखिरहे। नेटवर्क नहुने तर दिउसो घाम लाग्दा मात्र सोलारमार्फत आएको नेटले दुई दिन पछि कुरा हुदा मन एकदमै भकानियो मेरो आशुले उहाँलाई कमजोर नबनाओस भनेर आशु लुकाए
आज पनि केहि बेर मात्र कुरा भएपछि फोन काटियो; त्यसपछि सम्पर्क भएको छैन। शेर्पा भाइहरुसँगको कुरा; उहाँको अनुभवको कुराले अब थप यात्रा मौसमको अनुकुलतालाई हेरेर निर्णय गर्ने भन्नुभएको छ।
केहि दिनदेखि उहाँको पोस्टको share, अनि सकारात्मक प्रतिक्रिया; मेडियाहरुले लेखेका सकारात्मक समाचार; परिवार, साथीभाई, राजनीतिसहकर्मी, विपक्षी दलका सुभेक्षुकहरु सबैको कामना, प्रार्थना र चाहना; आरोहण गरेर नै फर्किनुहोस् भन्ने छ। कतिपयले, “सोचेर निर्णय गर्नु”, भन्नुभएको छ। ९९% ले गरेको माया दिएको हौसला र आशिर्बाद देखेर मन हर्षित भएको छ। सबैप्रति मेरो व्यक्तिगत रुपमा आभार, धन्यवाद र नमन गर्दछु
यद्यपि केही नकारात्मक टिप्पणी पनी नआएका हैनन तर सागरमाथा आरोहण मनोरंजन मात्र भए सबै जाने थीए होला ,
यो कठिन यात्रा र दर्बिलो आत्मबलको कुरा हो ।
त्यहाँ पूगेर पछी त्यहाँको नेट टेलीफ़ोनको समस्या , पर्यटक हरूको सुरक्ष्याको समस्या फोहर ब्यावस्थापनको समस्या देखी यावत समस्याको समाधान कसरी गर्न साकिन्छ भनेर गृह मन्त्री रमेश लेखक र पर्यटन मन्त्री बद्री पाण्डेलाई बोलाएर त्यहाँका स्थानीयहरू संग छलफल गराएको कुरा सामाजिक संजालदेखी मिडीया हरूमा आएता पनी मनस्थिति नकारात्मक भएका हरूले नकारात्मक प्रतिक्रिया दिनु स्वाभाविक हो कलीयुगमा छौ हामी
म भगवान प्रति अलि बढी नै विश्वास गर्छु; कुनै पनि कुरा देखेको होइन लेखेको हुनुपर्छ भन्ने कुरा विश्वास र अनुभवले सिकाएको छ। यति कडा परिश्रम र मिहिनेतका साथ सबैभन्दा जोखिम यात्रा – खुम्बू आइस् फल पार गरिसक्नु भएको छ। अब सगरमाथा को चुचुरोमा पुग्नका लागि डेढ किलोमीटर(१५०० मिटर) भएपनि मौसम अनुकूल भएन भने नजानु होला भनेर आग्रह गरेकी छु। स्वास्थ्यले साथ दिए अर्को सिजनमा समयमै जानु होला भनेकी छु। तेन्जिंग शेर्पाले ७ औं पटकमा आरोहण गरेको कुरा हामीसबैलाई थाहा छ; भने यस पटक हजुरले पुरा गर्न नसकेको कुरा, अर्को पटक अझ बढी तयारीका साथ पुरा गर्नु होला परिवारको तर्फबाट मैले दिनुपर्ने साथमा केहि कमि हुनेछैन, तर मौसम प्रतिकुल हुदा हुदै जाने कुरामा चाहिँ गम्भीर भएर सोच्नु होला भनेकी छु।
श्रीमान-श्रीमती भनेको जीवन रहेसम्मको सबैभन्दा नजिकको साथी रहेछ। भगवान श्री कृष्णले तातो दुध पिउदा उता रुकमिणीको ओठ पोलेको थियो रे; पक्कै श्रीमान-श्रीमतीको सम्बन्ध यस्तै रहेछ। हजुरका हरेक कठिन परिस्थितिहरु मैले पल पल महशुस गरिरहेकी छु। भागवानसँग प्रार्थना छ र हजुरको आत्मबलप्रति विश्वास छ बाकि यात्रा सहज रहने छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया