लागुऔषध नियन्त्रणमा लाग्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

लोकपथ
553
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशभर लागुऔषधको समस्या डरलाग्दो रूपमा बढिरहेको बताएका छन् । जनकपुरमा शुक्रबार मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सडक दुर्घटना नेपालको अर्को विकराल समस्या रहेको बताउँदै सडक दुर्घटनाबाट दैनिक झन्डै ७ जनाको ज्यान जाने गरेको बताए । 

उनले देशभर आत्महत्या कारण दैनिक १७ जनाको ज्यान जाने गरेको र साइबर क्राइम पनि डरलाग्दो समस्याका रूपमा आएको बताए । उनले लागुऔषधको नियन्त्रणमा खटिएर लाग्न प्रदेशका सुरक्षा निकायहरूलाई निर्देशन दिए । 

गृहमन्त्री लेखकले भने, ‘ड्रग्सको धेरै ठूलो समस्या छ । देशभर नै लागुऔषधको समस्या देखिएको छ । लागुऔषधको नियन्त्रण जरुरी छ । सडक दुर्घटना अर्को ठूलो समस्याका रूपमा रहेको छ । एक दिनमा झन्डै ७ जना मानिस सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ । सडक दुर्घटनाको नियन्त्रण अर्को महत्त्वपूर्ण काम हो । आत्महत्याको अवस्था देशभर झन्डै १७ जनाले एक दिनमा आत्महत्या गरिरहेका छन्, अर्को साइबर क्राइम छ । यो सबै कुरा एक अर्कोसँग जोडिएको छ । मानिसले लागुऔषध सेवन गरेर सवारी चलाउँछ, दुर्घटना हुन्छ । लागुऔषध सेवन गरेर डिप्रेसनमा जान्छ, लागुऔषध सेवन गरेर परिवारमा तनाव हुन्छ, आत्महत्या गर्दछ । लागुऔषधको नियन्त्रणमा खटिएर लाग्नुहोला ।’

गृहमन्त्री लेखकले शान्ति सुरक्षा देशको पहिलो सर्त र आवश्यकता भएको उल्लेख गरे । शान्ति सुरक्षाको स्थिति कमजोर हुने बित्तिकै देश विकासका काममा अवरोध आउने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?