राजीनामा दिने मनस्थितिमा बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस

लोकपथ
5.8k
Shares

काठमाडौं । बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पदबाट राजीनामा दिने तयारी गरिरहेको खबर बाहिरिएको छ । 

१५ वर्षदेखि एकछत्र सत्ता चलाएकी प्रधानमन्त्री शेख हसिनाले हिंसात्मक प्रदर्शन थेग्न नसकेपछि राजीनामा दिँदै देश छाडेपछि युनुसले अन्तरिम सरकारको नेतृत्व लिएका थिए । तर आफ्नो नेतृत्वमा सरकार गठन गरेको ९ महिनामै उनी राजीनामा दिने मनस्थितिमा पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् । 

विद्यार्थी नेता तथा राष्ट्रिय नागरिक पार्टीका संयोजक नाहिद इस्लामले मोहम्मद युनुस राजीनामा दिने मनस्थितिमा पुगेको बताएका छन् । उनको यो भनाइ युनुसलाई निवासमै पुगेर भेटवार्ता गरेर फर्केलगत्तै आएको थियो ।

इस्लामले बीबीसी बंगलासँग भनेका छन्, ‘देशको वर्तमान अवस्थाका कारण हामीले सरको राजीनामाको खबर सुनिरहेका थियौँ, प्रमुख सल्लाहकारले देशको वर्तमान अवस्थामा काम गर्न नसक्ने चिन्ता व्यक्त गरेका छन् ।’

‘राजनीतिक दलबाट कुनै आश्वासन पाइन्न भने म राजीनामा दिनबाट किन रोकिने ? आन्दोलन जुन तरिकाले चलिरहेको छ वा मलाई जसरी बन्धक बनाइएको छ । म यसरी काम गर्न सक्दिनँ,’ युनुसको भनाइ उद्धृत गर्दै इस्लामले भनेका छन् । 

यसअघि मोहम्मद युनुसले ढाकामा भएको सल्लाहकार परिषद्को बैठकमा देशको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

हिजो बिहीबार नै बंगलादेश राष्ट्रवादी पार्टीले अन्तरिम सरकारका दुई सल्लाहकार महफुज आलम र आसिफ महमुद र राष्ट्रिय सुरक्षा सल्लाहकार खलिलुर रहमानको राजीनामा वा बर्खास्तको माग गरेको थियो ।

बंगलादेशमा सरकारी जागिरमा आरक्षणविरुद्ध विद्यार्थीहरू गरेको विशाल आन्दोलन चर्किएपछि गत वर्ष अगस्ट ५ मा प्रधानमन्त्री शेख हसिना १५ वर्षदेखिको सत्ता त्याग्दै देशै छाडेर भारत भाग्न बाध्य भएकी थिइन् । अहिले उनी भारतकै शरणमा छिन् । 

उनी भागेको ३ दिनपछि बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो ।

हसिनाको शासनकालमा भ्रष्टाचार र कानुन उल्लंघनका नाममा दर्जनौँ मुद्दा खेपेका युनुस खासमा बंगलादेशका गरिब नागरिक र अन्तर्राष्ट्रिय समुदायमा भने उनी नेतृत्वका विभिन्न सामाजिक अभियानहरूका कारण चर्चित र सम्मानित छन् । त्यही सम्मानित व्यक्तित्वका कारण मुलुकको राजनीतिक संक्रमणकाललाई पार लगाउने अभिभावकका रूपमा युनुसलाई अघि सारिएको थियो ।

हसिनाको सत्ता ढाल्ने कारक बनेको विद्यार्थी आन्दोलनका अगुवाहरूले सुरूमा युनुसलाई अन्तरिम सरकारको प्रमुखको रूपमा अघि सारेका थिए । विद्यार्थी आन्दोलनका अगुवाको मागलाई सम्बोधन गर्दै बंगलादेशको सेना र अन्य राजनीतिक दलहरूले पनि युनुसलाई जिम्मेवारी दिन तयार भएका थिए । सबैको आग्रहलाई स्विकार्दै युनुस सरकारको प्रमुख बनेका हुन् । 

युनुसले सन् २००६ को नोबल पुरस्कार पाएका थिए। उनले बंगलादेशमा माइक्रोफाइनान्सको अवधारणा सुरुवात गरेका थिए ।   

न्युयोर्क टाइम्सका अनुसार गरिबहरूलाई पनि आर्थिक उन्नति गर्ने अवसर मिलोस् भन्ने हेतुले उनले सन् १९८३ मा ग्रामीण बैंकको स्थापना गरेका थिए । बैंकहरूले ऋण नपत्याउने गरिब नागरिकहरूले उनले स्थापना गरेको ग्रामीण बैंकबाट ऋण पाउँथे । सोही कार्यका लागि उनलाई नोबल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?