काठमाडौं । नेकपा माओवादी केन्द्र निकट भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको विदेशी विश्वविद्यालय राष्ट्रिय समितिले काठमाडौंस्थित द ब्रिटिस कलेजमा देखिएको प्रशासनिक लापरबाही, छात्रवृत्तिको वितरणमा बेवास्ता, तथा विद्यार्थीहरूबाट असुल गरिएको धरौटी रकम नफिर्ता गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ।
संगठनले विज्ञप्ति जारी गर्दै तत्काल समस्या समाधान नगरे आन्दोलनको चेतावनी दिएको छ।
संगठनका अध्यक्ष शशांक जैशीका अनुसार नेपालको सरकारद्वारा २०५९ सालमा जारी गरिएको विदेशी शिक्षण संस्था सम्बन्धी निर्देशिकाको पालना नगरेकोमा कलेजप्रति ध्यानाकर्षण गराइएको छ।
‘ब्रिटिस कलेजले सम्बन्धनसम्बन्धी कानुनी व्यवस्था पालना गरेको देखिन्न, त्यसैले तत्काल कार्यान्वयनमा ल्याउन माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, सरकारले तोकेको १० प्रतिशत छात्रवृत्तिको वितरण नगर्नु तथा विद्यार्थीहरूले अध्ययन सकेर कलेज छोडिसक्दा समेत लिएको सुरक्षा धरौटी रकम फिर्ता नगरिनुले संस्था भित्रको शोषण प्रवृत्तिलाई उजागर गरेको अनेरास्ववियू क्रान्तिकारीले उल्लेख गरेको छ ।
संगठनले समयमै मागहरू पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएको छ।
ब्रिटिस कलेज प्रशासनले भने अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया