सर्लाही । सर्लाहीमा कारको ठक्करबाट गम्भीर घाइते भएकी वृद्धाको मृत्यु भएको छ । मलंगवा नगरपालिका वडा नम्बर ८ स्थित कुशुम पार्टी प्यालेस अगाडिको भित्री सडक खण्डमा बिहीबार दिउँसो ३ बजेतिर कारको ठक्करबाट गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो ।
दिउँसो करिब ३ बजेतिर गोरखकालीतर्फबाट मलंगवातर्फ जाँदै गरेको बीआर ६ एई ९६८८ नम्बरको भारतीय कारले मलंगवा नगरपालिका–३ बस्ने ७० वर्षीया हसिना खातुनलाई ठक्कर दिएको थियो ।
खातुन पैदल हिँडिरहेकी वेला कारले ठक्कर दिँदा उनको दाहिने कुममा गम्भीर चोट लागेको थियो । घटनापछि तत्काल उनलाई प्रादेशिक अस्पताल मलंगवा लगिएको भए पनि उपचारका क्रममा करिब ४ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।
ठक्कर दिने कार र चालक मलंगवा नगरपालिका –८ निवासी ३० वर्षीय अमित गुप्तालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया