राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा साथ दिन अमरेश सिंहलाई सुवेदीको पत्र

लोकपथ
8.1k
Shares

काठमाडौं । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु अधिराज्य सहितको बहुदलीय प्रजातन्त्रको माग गर्दै गठित संयुक्त जनआन्दोलन समितिले स्वतन्त्र सांसद अमरेश कुमार सिंहलाई सहकार्यको प्रस्ताव पठाएको छ । समितिले बिहीबार स्वतन्त्र सांसद सिंहलाई पत्र पठाएर सहकार्यको प्रस्ताव गरेको हो ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनमा सहभागी भएर साथ दिन आग्रह गर्दै पत्रमार्फत औपचारिक प्रस्ताव गरेका हुन् ।

पत्रमा सुवेदीले राज्यका संवैधानिक र न्यायिक अंगहरू दलीयकरणको सिकार भएको उल्लेख गर्दै, वर्तमान व्यवस्था परिवर्तनको आवश्यकता औँल्याएका छन् ।

सिंहले पनि देश र जनताको पक्षमा हुने आन्दोलनमा समर्थन रहने बताएका छन् । उनले संसदमा जन आवाज, भ्रष्टाचार र वर्तमान व्यवस्थाको निष्पक्ष आलोचना गर्दै आएका छन्, जसका कारण उनलाई सहकार्यको प्रस्ताव गरिएको हो ।

सुवेदीले पठाएको पत्रका मुख्य बुँदाहरू यस्ता छन् ।

  • वर्तमान राजनीतिक व्यवस्थाले जनताको सुशासन, समृद्धि र राष्ट्रिय पहिचानको अपेक्षा पुरा गर्न नसकेको दाबी ।
  • विगत केही वर्षदेखि अमरेश कुमार सिंहले संसदमा उठाएका निष्पक्ष आवाज, भ्रष्टाचार विरोधी धारणा र जनताका पक्षमा लिएको अडानका कारण उनीप्रति सहकार्यको प्रस्ताव गरिएको उल्लेख ।
  • राज्यका संवैधानिक र न्यायिक अंगहरू दलीय हस्तक्षेपको सिकार बनेको ठहर गर्दै अबको विकल्पको खोजी गर्नुपर्ने अवस्था आएको बताइएको छ ।
  • संयुक्त आन्दोलनको लक्ष्य संवैधानिक राजसंस्था, सनातन हिन्दु राष्ट्र र बहुदलीय प्रजातन्त्र पुनर्स्थापना रहेको प्रष्ट पारिएको छ ।

सुवेदीले भनेका छन्, “दलीय करण र अव्यवस्थाको अन्त्य गरी राष्ट्रिय पहिचान, न्याय, धर्म र लोकतन्त्र पुनः स्थापना गर्न सबै देशभक्त शक्तिहरू एकजुट हुन जरुरी छ ।”

पत्रमा सुवेदीले सिंहलाई “इतिहासको आवश्यकताअनुसार सही कदम चाल्न” आह्वान गरेका छन् ।

संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि देशव्यापी जनआन्दोलन सुरु गर्ने घोषणा गरिसकेको छ । समितिमा राप्रपाका केही पूर्व नेताहरू र स्वतन्त्र अभियन्ताहरू सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?