काठमाडौं । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले वित्तीय अनुशासन कायम राख्दै आगामी वर्षको बजेट विनियोजन गरिने बताएका छन् ।
बिहीबार बसेको प्रदेश सभा बैठकमा विनियोजन विधेयक, २०८२ को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री काफ्लेले रणनीतिक महत्वको सडक, विपद् जोखिम न्यूनीकरण, कृषि क्षेत्रको व्यवसायीकरणलाई जोड दिने गरी बजेट तर्जुमा गरिने प्रतिबद्धता व्यक्त गरे । बजेट प्रणालीमा वित्तीय जवाफदेहितलाई अभिवृद्धि गरिने समेत उनले बताए ।
संघीय शासन प्रणाली मार्फत विकास र समृद्धि हासिल गर्न वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन जरुरी भएको मन्त्री काफ्लेको भनाई छ । चालु खर्च कटौती, पुँजीगत खर्चमा वृद्धि गर्दै उत्पादकत्व अभिवृद्धि गर्ने क्षेत्रमा लगानी गर्ने सिद्धान्त र प्राथमिकता कार्यान्वयन गर्न दृढ रहेको उनले दाबी गरे।
मन्त्री काफ्लेले समाजमा रहेका विकृति विसंगतिहरुलाई मात्र इंगित गरी राम्रा पक्षहरूलाई बेवास्ता गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । जनतामा रहेका निराशाहरू चिर्दै आशाको सञ्चार गर्नु आजको आवश्यकता भएको उनको भनाई छ । प्रदेशको स्रोत र साधनलाई समेत मध्यनजर गर्दै आगामी वर्षको बजेट विनियोजन गर्ने समेत मन्त्री काफ्लेले प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री काफ्लेले छलफलको क्रममा प्राप्त सुझावहरूलाई सम्बोधन गर्ने आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । प्रदेश सभाको अर्को बैठक आगामी जेठ १४ मा बस्नेगरी स्थगित गरिएको छ । १४ गते बुधबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाद्वारा आगामी आर्थिक वर्ष २०८२/०८३ वार्षिक नीति तथा कार्यक्रम सम्बोधन हुने सभामुख भुवनकुमार पाठकले जानकारी दिए । उक्त दिन निर्धारित समयभन्दा ३० मिनेट अगावै सांसद्हरुलाई औपचारिक पोसाकमा उपस्थित भइसक्न समेत सभामुख पाठकले आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया