सडक जोखिम न्यूनीकरणमा ध्यान दिनु जरुरी : एमाले सांसद गौतम

लोकपथ
63
Shares

काठमाडौं । नेकपा एमालेकी सांसद इन्दिरादेवी गौतमले सडक दुर्घटनाको जोखिम दिनहुँ बढिरहेकोले नियन्त्रणमा ध्यान दिनु आवश्यक रहेको बताएकी छन् ।

बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले खनिरहेका सडकहरू अव्यवस्थित र अवैज्ञानिक तरिकाको भएकाले जोखिम बढिरहेको बताइन् । 

सांसद गौतमले आगामी दिनमा प्राकृतिक कारणले आउने जोखिमभन्दा मानवीय अदूरदर्शीताका कारण उत्पन्न हुने जोखिम न्यूनीकरणमा काम गर्नुपर्नेमा जोड दिइन् । उनले चेतना अभावका कारण सानातिना विषयले पनि मानिसहरू मरिरहेको भन्दै त्यस्तो अवस्था आउन नदिन सचेतना कार्यक्रमहरू सञ्चालन गर्न आग्रह गरिन् । 

उनले भनिन्, ‘जोखिमहरू बढ्ने कारणहरू हाम्रो बस्तीहरू, हामीले खनी रहेका बाटाघाटाहरु, अव्यवस्थित र वैज्ञानिक तरिकाबाट अनुसन्धान नगरी, माटोको अवस्थाको जानकारी नलिई जताततै बाटो खनिरहँदा र बाटोको छेउ किनारलाई सुरक्षा दिने व्यवस्था नहुँदा हुने जोखिमहरूमा ध्यान दिनु आवश्यक छ । हामीले अब आउँदा दिनहरूमा प्राकृतिक कारणले आउने जोखिम एउटा हो र मानवीय अदूरदर्शिताका कारणले उत्पन्न हुने जोखिमहरूलाई अब आइन्दा यस खालका जोखिम ननिम्तने गरी व्यवस्थित तरिकाले अघि बढाउने विषयमा सल्लाह सुझाव दिँदै गर्नुहोला । हुम्लामा घटना घटिसकेपछि त्यहाँका जनताले पानी खान पाएनन् भन्ने कुरा आइरहेको छ । त्यस्तो हुँदा तत्काल खानेपानीको व्यवस्था गर्न नसकिएको अवस्थामा पनि त्यसको विकल्पका रूपमा जुन पानी त्यहाँ हुन्छ । त्यही पानीलाई शुद्धीकरण गर्ने विधिहरूको बारेमा पनि उनीहरूलाई जानकारी गराउनुपर्छ । विपदबाट जोगाउने कुरा एउटा हो र तत्काल मानिसहरूलाई मर्न नदिने साना तिना विषयले पनि मानिसहरू मर्न नपाउने खालको सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । त्यसका लागि हामीले गर्नुपर्ने कामका लागि हामी सधैँ सँगै रहनेछौँ ।’

उनले विपद् न्यूनीकरणका लागि सञ्चालन गरिने सचेतनाका कार्यक्रमहरूमा आफूहरुको सधैँ साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?