काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपालमा गणतन्त्र गोलीद्वारा नभइ बोलीबाट आएको बताएका छन् । बिहीबार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले नेपालमा गणतन्त्र बुलेटबाट नभइ ब्यालेटबाट आएको र बुलेटबाट आएको नसोच्न माओवादीलाई पटक पटक आफूले आग्रह गरेको समेत उल्लेख गरे ।
उनले अहिलेको सत्तापक्ष र प्रतिपक्ष गणतन्त्र पक्षधर रहेको पनि बताए । उनले गणतन्त्रको आलोचना र टिप्पणी गर्न पाइने तर राजतन्त्रको पक्षमा लाग्ने कुरा, मुलुक विखण्डनमा लाग्ने कुरा संविधान विरोधी भएको जिकिर गरे ।
मन्त्री गुरुङले भने, ‘यो मुलुकमा गणतन्त्र गोलीद्वारा होइन, बोलीद्वारा आएको हो । बुलेटद्वारा होइन, ब्यालेटबाटै आएको हो । माओवादीहरुले बुलेटबाट गणतन्त्र ल्याउँछाँै भनेको त्यो दिन भएन भनेर जिस्काइरहेको हुन्छु मैले । अहिले सत्ता पक्ष, प्रतिपक्षमा जोजो छौँ, सबै गणतन्त्रको पक्षधर छौँ । गणतन्त्रको आलोचना, टिप्पणी गर्न पाइन्छ । राजतन्त्रको पक्षमा लाग्ने कुरा, मुलुक विखण्डनमा लाग्ने कुरा संविधान विरोधी हो । प्रजातन्त्र, लोकतन्त्र, जनता विरोधी हो । त्यो सीमाभित्र रहेर काम गर्नुपर्छ ।’
मन्त्री गुरुङले राजावादीहरुलाई बोल्ने अधिकार दिँदा डराएको भन्ने नसोच्न चेतावनी समेत दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया