काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले संसदीय समितिमा प्रतिपक्षलाई बोल्न रोकिएको भन्दै आपत्ति जनाएका छन् ।
बिहीबारको सार्वजनिक लेखा समितिमा बोल्दै उनले समिति सभापतिसँग आपत्ति जनाएका हुन् । उनले संसद् सार्वभौम हुने र सार्वजनिक विषयमा कुरा राख्न पाइने बताए । आफूहरूलाई लागेको विषय समितिमा राख्दा रोक्न नमिल्ने भन्दै आफूहरू कसैको दास नभएको बताए ।
उनले भने, ‘संसद् भनेको सार्वभौम हो । यो मिनी पाल्र्यामेण्ट हो । सार्वजनिक विषयका कुरा, हामीलाई लागेको विषय, त्यसमध्ये पनि हामी माओवादी प्रतिपक्षमा छौँ । हामीले बोलेका विषयमा तपाईँले रोक्नुहुन्छ । यो दुर्भाग्य हो । हामीलाई प्रतिबन्ध लगाउन पाउनु हुन्न । सार्वजनिक लेखा समिति प्रतिपक्षको हुनुपर्छ भनेर बोल्दा तपाईँहरू हुनु हुँदैन, हुँदैन भन्ने । तपाईँहरूको हामी दास हो र ? माओवादी पार्टीको कुरा हो नि यो ।’ उनले सार्वजनिक लेखा समिति सभापतिमाथि सत्तापक्ष रहन्जेलसम्म प्रश्न रही रहने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया