काठमाडौं । नेपालमा विगत १० वर्षमा मनसुनजन्य ८ हजार ४ सय ४१ घटना भएका छन् । बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले यसबारेमा जानकारी गराएका हुन् ।
मनसुनजन्य विपद्का कारण विगत १० वर्षमा बाढीका १ हजार ६ सय २ वटा घटना भएका छन् । त्यस्तै पहिरोका २ हजार ८ सय ४०, भारी वर्षाका १ हजार ५ सय ९७, चट्याङका घटनाहरू पनि बढेर गएको बताए ।
विगत १० वर्षमा चट्याङका २ हजार ४ सय घटनाहरू रहेको भन्दै उनले यस वर्ष गत वर्षको भन्दा बढी पानी पर्ने र तातो पनि सरदर भन्दा बढी हुने बताए ।
यस वर्ष गत वर्षको भन्दा बढी प्रताडित हुनसक्ने आँकलन रहेको र सोहीअनुसार पूर्व तयारीको काम गरिरहेको बताए ।
मनसुनजन्य क्षति न्यूनीकरणका लागि नीतिगत र संरचनागत सुधार जरुरी रहेको पनि बताए । सबै काम संघबाट गर्न नसकिने भन्दै स्थानीय तहलाई उसको जिम्मेवारी दिनुपर्ने बताए । स्थानीय तहको क्षमता विकास गर्न पनि जरुरी रहेको उनको भनाइ छ ।
उनले भने, ‘१० वर्षमा विपद्जन्य घटनाहरू हेर्दा बाढी, पहिरो, भारी वर्षा, चट्याङ त्यस्ता खालका घटनाहरू धेरै छन् । बाढीका १ हजार ६ सय २, पहिरोका २ हजार ८ सय ४०, भारी वर्षाका १ हजार ५ सय ९७, चट्याङका घटनाहरू पनि बढेर गएको छ । २ हजार ४ सय छन् । ८ हजार ४ सय ४१ घटनाहरू मनसुनजन्य विपद्को हाम्रो १० वर्षमा भएका छन् ।’
उनले समाजलाई जिम्मेवार बनाउन नसकेसम्म विपद् व्यवस्थापन दुरुस्त हुन नसक्ने जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया