काठमाडौं । बुधबार अपराह्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तिर्थराज भट्टराईको कार्यकक्षमा छापा मार्यो । भिजिट भिसामा खाडी लगायतका देशमा जाने यात्रुसँग रकम असुली गरिरहेको सूचनाका आधारमा अख्तियारले छापा मार्दा भट्टराई कार्यकक्षमै थिए ।
बुधबार अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेको समाचार बाहिरिए पनि अन्यत्र गरेको छापा अर्थात् रेडको समाचार भने बाहिर आएन । वास्तवमा अख्तियारले बुधबार अपराह्न एक वा दुई स्थानमा नभई ६ स्थानमा एकै पटक छापा मारेको खुलेको छ । अख्तियारले भिजिट भिसा प्रकरणमा रकम लेनदेन गर्ने, सेटिङ गर्ने, कारोबार गर्ने विभिन्न व्यक्ति र संस्थाहरूमा एकै पटक छापा मारेको पाइएको हो ।
अख्तियारले बुधबार अपराह्न एकै समयमा तीन वटा ट्राभल एजेन्सी, दुई जना बिचौलिया र अध्यागमन कार्यालयका प्रमुखको कार्यकक्षमा एकै पटक छापा मारेको पाइएको छ । भिजिट भिसामा कामदार पठाउने म्यानपावर एजेन्सीले ट्राभल्सको सहयोगमा यो धन्दा चलाउने गरेको र त्यसको कारोबारको चेन अध्यागमन कार्यालयका प्रमुख तिर्थराज भट्टराईसम्म पुगेपछि उनीलाई समेत नियन्त्रणमा लिइएको थियो ।

६ स्थानबाट मोबाइल लगायतका इलेक्ट्रिक डिभाइस बरामद
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार अपराह्न एकै समयमा ६ स्थानमा छापा मारी मोबाइल फोन तथा अन्य इलेक्ट्रिक डिभाइसहरू नियन्त्रणमा लिएको पाइएको छ । अन्य प्रमाणहरू यसअघि नै संकलन गरिसकिएको र तत्कालका लागि डिभाइसहरू नियन्त्रणमा लिए मात्रै पनि पुग्ने भएकाले प्रारम्भिक बयान र मोबाइल डिभाइसहरू नियन्त्रणमा लिई उनीहरूलाई कार्यालयमा उपस्थित हुन भनिएको छ ।
बुधबारको छापामा अख्तियारको टोलीले तीन वटा ट्राभल एजेन्सीका कर्मचारीलाई नियन्त्रणमा लिएको थियो भने ट्राभल एजेन्सी लगायतबाट रकम लिई अध्यागमनका कर्मचारी र कार्यालय प्रमुख समेतलाई रकम दिने व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिइएको थियो । उनीहरूसँग अख्तियारको टोलीले प्रारम्भिक बयान लिइसकेको र त्यस्तो बयान भिडियोमा समेत रेकर्ड गरेको बुझिएको छ ।
एक महिना पहिलेदेखि नै रेड’को योजना
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यालय प्रमुख तिर्थराज भट्टराई लगायतले खुलेआम घुस उठाउने गरेको भन्दै उजुरी परेको थियो । उक्त उजुरीसँगै सेटिङमा बाहिर पुगेका केही व्यक्तिहरूका नाम, उनीहरूले कहाँ कसलाई कति तिरे, को मार्फत काम भयो लगायतका विवरण थिए ।
सोही सूचनालाई पछ्याउँदै अख्तियारको टोलीले करिब एक महिना अगाडिदेखि घटनासँग सम्बन्धित व्यक्तिहरूमाथि निगरानी बढाएको थियो । सूचनामा उल्लेख भएका कुराहरूको अध्ययन गर्दै उनीहरूमाथि निगरानी बढाउँदा घुसको लेनदेन भइरहेको अन्य प्रमाणहरू पनि फेला परेको अख्तियार स्रोतले बतायो ।

तीन दिन अगाडि घुस लेनदेनको पुष्टि हुने केही प्रमाणसमेत कार्यालयमा आइपुगेपछि अख्तियारले बुधबार अध्यागमन कार्यालय लगायतका स्थानहरूमा छापा मार्ने योजना बनाएको थियो । ६ स्थानमा एकै पटक छापा मार्ने योजना बनाएर अख्तियारको टोली मंगलबार राती मात्रै घरमा पुगेको थियो ।
तर अख्तियारबाटै छापा मार्ने सम्बन्धी सूचना चुहियो र त्यो गृह मन्त्रालयसम्म पुग्यो । अख्तियारले छापा मार्ने सूचना गृहमन्त्री रमेश लेखकसम्म समेत पुगेपछि गृहमन्त्री रमेश लेखकले ‘ड्यामेज कन्ट्रोल’ गर्न अध्यागमन कार्यालयका प्रमुख तिर्थराज भट्टराईलाई मन्त्रालयका काज बोलाएका थिए । मन्त्री लेखकले बिहानै भट्टराईलाई मन्त्रालय तान्ने निर्णय गरेको भए पनि पत्र पुगिसकेको थिएन र बुझ बुझारथ गर्न बाँकी नै थियो ।

यता आफ्नो योजना चुहिएपछि तनावमा रहेको अख्तियारको टोलीले पनि योजना अनुसार नै बिहानै कार्यालय प्रमुखको कार्यकक्षमा पुगेर उनलाई मोबाइल चलाउन नदिई निगरानीमा राख्यो । कार्यालय प्रमुख लगायतका केही व्यक्तिसँग सेटिङमा काम गर्ने तीन ट्राभल एजेन्सीमा पनि एकै पटक छापा मारियो भने म्यानपावर र ट्राभलबाट पैसा ल्याएर अध्यागमनका कर्मचारीहरूलाई रकम दिने दुई जना बिचौलियालाई समेत सोही समयमा नियन्त्रणमा लियो ।
अख्तियारको रेड यस्तो समयमा भयो कि भिजिट भिसा प्रकरणको गिरोहमा रहेका सबै सदस्य एकै पटक नियन्त्रणमा आए र कसैले कसैलाई सूचना दिन भ्याएनन् । त्यसपछि अख्तियारको टोलीले उनीहरूको मोबाइल फोन लगायतका डिभाइसहरू नियन्त्रणमा लिएर अनुसन्धान गर्यो ।
कार्यालय प्रमुखको मोबाइलमा भेटियो ट्राभलको लिस्ट
अख्तियार अनुसन्धान दुरुपयोग आयोगबाट बुधबार भएको रेडपछि अनुसन्धान गर्दा ट्राभल एजेन्सीका कर्मचारीले कार्यालय प्रमुखको मोबाइलमा पठाएका विदेश उड्नेहरूको लिस्ट भेटिएको छ । अख्तियार स्रोतका अनुसार ट्राभलका कर्मचारीले आफ्नो प्रारम्भिक बयानमा कर्मचारीसँग मिलेर काम गरेको बताइसकेका छन् भने ती लिस्टहरूमा रहेका नाम हेर्दा अधिकांश व्यक्ति उडिसकेको पाइएको छ ।

अध्यागमन कार्यालयका प्रमुखले भने भिजिट भिसामा सेटिङ प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । यद्यपि उनको मोबाइलमा पनि विदेश जानेहरूको लिस्ट भेटिएको, अनधिकृत व्यक्तिहरूसँग अस्वाभाविक हिमचिम र भेटघाट भएको, अनधिकृत कुराकानी भएको पाइएको छ ।
घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको भए पनि अन्य प्रमाणहरूले संलग्नता देखिएको स्रोतको दाबी छ । अध्यागमनका कर्मचारीले रकम भने आफ्नो खातामा नराखी नगद नै बुझ्ने गरेको र ती रकमहरू अन्य व्यक्तिको नाममा बचत गर्नेसमेत गरेको बुझिएको छ ।
‘रेड’पछि हाजिरीमा छाड्नु ‘आश्चर्यजनक’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने अधिकांश रेडमा नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई बिना सर्त वा सशर्त छाड्ने गरेको छैन । यद्यपि बुधबारको रेडमा भने गृहका सहसचिव तिर्थराज भट्टराईको मोबाइल डिभाइसहरू नियन्त्रणमा लिई प्रारम्भिक बयान गराएर हाजिरीमा छाडियो ।
अनुसन्धानको पाटोमा व्यक्ति नियन्त्रणमा नलिई पनि अनुसन्धान गर्न सकिने हुन्छ । तर कुनै व्यक्तिले प्रमाण नष्ट गर्न सक्ने अवस्था भएमा उनलाई नियन्त्रणमा लिनै पर्ने हुन्छ ।
तर अख्तियारको टोलीले बुधबारको रेडमा भने सहसचिव भट्टराईलाई केही समय नियन्त्रणमा लिई अनुसन्धान गरे पनि उनलाई पक्राउ भने गरेन । उनको मोबाइल डिभाइस, ल्यापटप लगायतका सामाग्रीहरू नियन्त्रणमा लिई बिहीबार अख्तियारमा उपस्थित हुने गरी छाडिएको थियो ।
यो पनि …
त्रिपाल खरिद भ्रष्टाचारमा जोगिएका भट्टराई भिजिट भिसा प्रकरणमा फेरि समातिए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया