काठमाडौं । भिजिट भिसामा बाहिर पठाउँदा घुस लिने गरेको उजुरीको आधारमा अख्तियारको नियन्त्रणमा पुगेका सहसचिव तिर्थराज भट्टराई पहिले पनि भ्रष्टाचारको मुद्दा खेपेका व्यक्ति रहेको खुलेको छ । काठमाडौंको एलडिओ रहँदा त्रिपाल खरिद गर्दा ३५ लाख ६ हजार भ्रष्टाचार गरेको आरोप भट्टराईमाथि लागेको थियो ।
२०७२ सालमा आएको भूकम्पपछि अस्थायी वासस्थानका लागि भन्दै खरिद गरिएको त्रिपालमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईसमेतलाई विपक्षी बनाई मुद्दा दायर गरेको थियो । भूकम्प जाँदा भट्टराई काठमाडौंमा स्थानीय विकास अधिकारी थिए र त्रिपाल खरिद गर्ने प्रमुख व्यक्ति उनी नै थिए । त्रिपाल खरिद गर्दा ३५ लाख ६ हजार ६२६ रुपैयाँ ७६ पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईसमेत ६ जनालाई प्रतिवादी कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
तत्कालीन समयमा त्रिपाल खरिद गर्दा भएको भन्दा बढी गुणस्तर, बढी परिमाण र साइज समेत भएको भन्दा बढाएर बिल बनाएको पाइएको थियो । भन्सार छुट दिइएका त्रिपालको मूल्य भन्सार तिरेर ल्याइएको भन्दा बढी रहेको समेत पाइएपछि अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । यद्यपि विशेष अदालतले उक्त मुद्दामा भट्टराईलाई सफाइ दिएको थियो ।
उठौती रकमको प्रतिशत बढाएपछि विद्रोह
भिजिट भिसामा युएई तथा अन्य खाडी मुलुक र युरोप जाने व्यक्तिहरूसँग चर्को रकम उठाउने गरिएको गुनासो बारम्बार आइरहेको थियो । पहिले अध्यागमन कार्यालयमा उठाइने रकममध्ये १० भागको ५ भाग अर्थात् ५० प्रतिशत कार्यालय प्रमुखले लगी अन्यत्र समेत बाँड्ने गरिएको गुनासो आएको थियो । तर हालका कार्यालय प्रमुख तिर्थराज भट्टराई अध्यागमन कार्यालयको प्रमुख बनेर गएपछि ६० प्रतिशत अर्थात् १० भागको ६ भाग रकम लैजाने गरेपछि कर्मचारीमै विद्रोह भएको थियो ।
सहसचिव भट्टराईले कुल उठेको रकमको ६० प्रतिशत मात्रै होइन, अन्य दलालसँग आफैँ विदेश जानेको लिस्ट ल्याएर कहिले बालुवाटार, कहिले सिंहदरबार त कहिले गृहमन्त्रीको सचिवालयबाट आएको नाम भन्दै सबै रकम आफैँले राख्ने गरेको गुनासो आएको थियो ।

जोखिम मोलेर काम गर्ने कर्मचारी, उठौतीको रकम जति कार्यालय प्रमुखले लैजाने गरेको भन्दै कर्मचारीमै विद्रोह भएपछि केही प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भट्टराई लगायत केही कर्मचारीविरुद्ध उजुरी परेको थियो ।
अख्तियार स्रोतका अनुसार केही प्रमाणसहित अख्तियारमा उजुरी परेको थियो । त्यस लगत्तै छानबिन थालेको अख्तियारले भट्टराईलाई बुधबार अपराह्न नियन्त्रणमा लिएको हो ।
गृहमन्त्रीकै रोजाइमा पुगेका थिए अध्यागमन, मन्त्रीको सचिवालयसँग साँठगाँठ !

गृह मन्त्रालय मातहतको अध्यागमन कार्यालयमा कार्यालय प्रमुख बनाएर पठाइएका भट्टराई गृहमन्त्री रमेश लेखकका प्रिय पात्र हुन् । गृहमन्त्री लेखककै योजनामा भट्टराईलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको प्रमुख बनाइएको थियो ।
भट्टराईलाई अध्यागमनको कार्यालय प्रमुख बनाएपछि गृह मन्त्रालयबाट समन्वय गर्ने काम गृहमन्त्री लेखकका निजी सचिव बद्री तिवारी र शाखा अधिकृत गणेश ओझाले गर्ने गरेका थिए । अख्तियारमा परेको उजुरीमा घुसको रकम गृहमन्त्री लेखक, गृहमन्त्रीका सचिवालयका कर्मचारीहरू, गृह सचिव र हालका मुख्यसचिवसम्म पुग्ने गरेको उजुरी आएको अख्तियार स्रोतले जनाएको छ ।
युरोप जानेसँग प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म घुस लिइन्थ्यो
व्यक्तिगत श्रम स्वीकृति लिई रोमानिया लगायतका देशहरूमा जाने कामदारका लागि प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म अध्यागमनमा सेटिङका लागि खर्च हुने गरेको थियो । युरोपमा कामका लागि जान म्यानपावर कम्पनीबाट नै सबै काम हुने भए पनि नेपाल सरकारले अनुमति नदिएको कारण उनीहरू सबै व्यक्तिगत श्रम स्वीकृति बनाएर ती देशहरूमा उड्ने गरेका थिए । तर कागजात नमिल्ने, भाषा नजान्ने, नक्कली कागजात आदि कारण उनीहरू सहजै ती देशहरूमा जान पाउँदैनथे । त्यस कारण विमानस्थलको अध्यागमन कार्यालयमा सेटिङ गरेर एक लाख रुपैयाँसम्म तिरेर उडाउने गरिएको थियो ।

त्यसै गरी युएई लगायतका देशमा जान अनुमति दिने प्रयोजनका लागि ४० हजार रुपैयाँदेखि ७० हजार रुपैयाँसम्म लिने गरिएको थियो । जसबाट दैनिक दसौँ करोड रुपैयाँ घुसबापत उठ्ने गरेको उजुरी छ ।
‘कर्मचारीले दैनिक एक लाख लिएर जान्छन्’
अख्तियारमा केही प्रमाणसहित परेको उजुरीमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अधिकृत स्तरका कर्मचारीले दैनिक एक लाख रुपैयाँसम्म बुझेर जाने गरेको उल्लेख छ । घुसबापत ठुलो रकम आउने भएपछि सरुवा भएका कर्मचारीले रमाना बुझ्न नमान्ने, दरबन्दीभन्दा बढी कर्मचारीले काम गर्ने गरेको समेत पाइएको छ ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा जम्मा १२९ जना अधिकृतको दरबन्दी रहेको भए पनि त्यो भन्दा धेरै बढी अधिकृतहरू कार्यरत रहेको पाइएको छ ।
अख्तियारको छापाको सूचना चुहिएपछि हतार हतार काज !
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा दैनिक ठुलो मात्रामा घुसको कारोबार भइरहेको सूचना र प्रमाणसमेत अख्तियारमा पुगेपछि अख्तियारले तत्कालै छापा मारेर नियन्त्रणमा लिने योजना बनाएको थियो । मंगलबार साँझ मात्रै योजना बनी बुधबार छापा मार्ने तयारी भएको थियो ।

तर अख्तियारको तयारी र प्रमाणसहितको उजुरी परेको जानकारी पाए लगत्तै गृहमन्त्री रमेश लेखकले बुधबार बिहान हतार हतार सहसचिव भट्टराई र ७ जना सुब्बालाई मन्त्रालयमा काज सरुवा गरेका थिए । भिजिट भिसा प्रकरणको अनुसन्धान नै रोक्ने उद्देश्यले हतार हतार काज सरुवा भए पनि अख्तियारले भट्टराईलाई काजमा जान दिएन । बुधबार अपराह्न अध्यागमन कार्यालयमै पुगेर भट्टराईलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
गृहमन्त्रीकै सचिवालयका कर्मचारीले लेखे, ‘जे हुनु थियो भयो, धेरै हुन बाँकी छ’
यसैबिच बुधबार त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका सहसचिव तिर्थराज भट्टराई अख्तियारको नियन्त्रणमा पुगे लगत्तै गृहमन्त्री रमेश लेखकका सचिवालयका एक सदस्यले यस्तो घटना एक दिन हुनु नै थियो भन्दै स्ट्याटस लेखेका छन् । गृहमन्त्री लेखकका प्रेस सहयोगी लोकेन्द्र भट्टले भट्टराई अख्तियारको नियन्त्रणमा पुगे लगत्तै सामाजिक सञ्जाल एक्समा ‘जे हुनु थियो, भयो’ भनी उल्लेख गरेका छन् । भट्ट यति मै रोकिएका छैनन्, उनी लेख्छन्, ‘जे हुनु थियो भयो । तर धेरै हुन बाँकी छ । पृथ्वी गोलो छ, सबैको पालो आउँछ ।’
भट्टको यो अभिव्यक्ति मुख्यतः गृहमन्त्रीकै सचिवालयका कर्मचारीप्रति लक्षित रहेको बुझ्न सकिन्छ । अध्यागमन कार्यालयमा घुसको कारोबार भइरहेको र त्यसको जानकारी तथा हिस्सा गृह मन्त्रालयसम्म पुगेको प्रेस सहयोगी भट्टको अभिव्यक्तिले समेत पुष्टि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया