काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन विधेयकले सुशासनको प्रत्याभूति दिलाउने बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले विधेयकले हाम्रा पद्धतिलाई बलियो बनाउन खोजेको भन्दै त्यसै खालका प्रबन्ध र व्यवस्था मिलाएर सुशासनको प्रत्याभूति दिलाउने स्पष्ट पारे । उनले निजी क्षेत्रमैत्री र पर्यटन मैत्री व्यवस्था मिलाउनु आजको आवश्यकता भएको बताए ।
उनले भने, ‘सबैभन्दा पहिले पर्यटनसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ र यसको सैद्धान्तिक छलफलमाथि माननीयज्युहरुको उत्साहजनक सहभागिताका लागि धन्यवाद । छलफलका क्रममा माननीयहरूले विभिन्न कोणबाट आफ्ना कुराहरू राखिसकेपछि यसमा मैले अरू केही भन्नुपरेन । करिब एक तिहाइ सदस्यहरूको सहभागिता रह्यो । यसले पनि यसको महत्वलाई अझ उजागर गरेको छ । दफावार छलफलका माध्यमबाट विधेयकलाई समृद्ध र सुदृढ बनाउँछ र बाटो पक्रिन्छ भन्ने मान्दछु । मन्त्रालयले कुनै पनि जडता नराखी विधेयक ल्याएको छ । विशेष गरी यो विधेयकले हाम्रो पद्धतिलाई बलियो बनाउन खोजेको छ । त्यसैखालका प्रबन्ध र व्यवस्था मिलाउने छौँ । अर्को महत्त्वपूर्ण कुरा सुशासनको पाटो सबैतिर खड्किएको महसुस भएको छ त्यसतर्फ हाम्रो ध्यान रहनेछ । त्यसका लागि प्रभावकारी संरचनाहरू बनाउनेमा हामी विशेष ध्यान दिनेछौँ । पर्यटन व्यवसायी जो निजी क्षेत्रले पर्यटन क्षेत्रको विकासका लागि अगुवाइ गर्नुपर्छ । निजी क्षेत्र मैत्री र पर्यटनमैत्री व्यवस्था मिलाउनुपर्ने अवस्था छ । त्यसलाई हामी कानुनको माध्यमबाट स्थापित गर्नुपर्नेछ । पर्यटनमैत्री वातावरण कसरी बनाउनुपर्छ त्यसतर्फपनि हाम्रो ध्यान केन्द्रित रहनेछ ।’
उनले पर्यटनमैत्री वातावरण कसरी बनाउने भन्ने कुरालाई कानुनको माध्यमबाट स्थापित गर्नुपर्ने अवस्था रहेकोले त्यसैतर्फ ध्यान केन्द्रित रहने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया