काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सार्वजनिक लेखा समितिको सभापतिको विषयलाई लिएर नगिजोल्न नेकपा (माओवादी केन्द्र) सँग आग्रह गरेका छन् ।
तत्कालीन समयमा नेकपा एमाले प्रतिपक्षमा रहेको र सोहीअनुसार शीर्ष नेतृत्वबाट समितिको बाँडफाँड गर्दा एमालेको भागमा परेको भन्दै सभापतिको विषयलाई लिएर नगिजोल्न आग्रह गरेका हुन् ।
उनले समितिमा आएर सधैँ गिजोलिरहनु भन्दा आफ्ना शिर्षस्थ नेताहरूसँग गएर कुरा गर्न आग्रह गरे । अन्तर्राष्ट्रिय मान्यताअनुसार सार्वजनिक लेखा समितिको सभापति विपक्षीलाई नै दिने अभ्यास भएको बताए । उनले यही विषयलाई लिएर सधैँ सभापतिलाई दोषारोपण गरिरहन नहुने बताए ।
प्रमुख सचेतक घिमिरेले भने, ‘सार्वजनिक लेखा समितिको सभापतिको विषयमा बारम्बार हरेक बैठकमा प्रश्न उठ्ने गर्दछ । अन्तर्राष्ट्रिय मान्यताअनुसार सार्वजनिक लेखा समितिको सभापति विपक्षीलाई नै दिने अभ्यास हो । संसदीय अभ्यासमा । सम्भवतः यो समिति बन्दा नेकपा एमाले प्रतिपक्षमा थियो, यस हिसाबले यो भगमा एमालेको भागमा परेको हो । एउटा बुझ्नुपर्ने कुरा के हो भने यो समिति बन्दा भागबण्डै भएको हो । राजनीतिक भागबण्डाको आधारमा समितिहरू भागमा परेका हुन् । सबै दलले आफ्नो आफ्नो जुँगा हेरि भाग भनेको जस्तो भाग पाएका छन् । यो राजनीतिक शीर्ष तहमा मिलेर गरिएको निर्णय हो । यसलाई लिएर सधैँ सभापतिज्यूलाई ह्युमलेट गर्नेकुरा राम्रो होइन । अबदेखि आफ्नै नेताहरूसँग गएर कुरा गरौँ । शीर्ष नेतृत्व तहमा कुरा गरेर बदल्नुपर्छ भने बदलौँ । तर यसलाई सधैँ गिजोल्ने काम नगरौँ ।’
प्रमुख सचेतक घिमिरेले शीर्ष नेतृत्व तहमा कुरा गरेर बदल्नुपर्छ भने सभापति बदल्न कुनै कठिनाइ नरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया