काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा धेरै आर्थिक अनियमितता भएको बताएका छन् ।
बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विमानस्थल निर्माणमा सम्पूर्ण रूपबाट भ्रष्टाचार भएको बताए ।
उनले महंगो ब्याजमा ल्याएको ऋण नेपाली जनताको थाप्लोमा बोकाएर चुपचाप बस्ने परम्परा स्थापित गर्न नहुने बताए । निर्माणको जिम्मा देशसँग नभई छिमेकी देशको ठेकेदार कम्पनीसँग सम्झौता भएकाले कोही रिसाउँछ भनेर प्रतिवेदनमा भ्रष्टाचारको कुरा लुकाउन नमिल्ने उल्लेख गरे ।
उनले भने, ‘यो सम्पूर्ण रूपबाट भ्रष्टाचार भएको छ । यसमा धेरै आर्थिक अनियमितता भएको छ । अर्को कुरा यो एउटा कुनै कम्पनीले गर्यो । मित्र राष्ट्र चीनकोले गर्ला, अमेरिका, भारतकोले गर्ला । उनीहरूको कम्पनीसँग हामीले यत्रो महंगो ब्याजमा ल्याएको ऋण रकम नेपाली जनताको थाप्लोमा बोकाएर अनि हामी चुपचाप बस्ने परम्परा स्थापित भयो भने हाम्रो के हुन्छ । यो चीन र नेपालको डिप्लोमेटिक रिलेशनसँग सम्बन्धित कुरा होइन । एउटा ठेकदार कम्पनीसँग सम्बन्धित कुरा हो ।’
उनले ठेकेदार कम्पनीसँगको सम्झौतामा अनियमितता, आर्थिक घोटाला भएकोबारे स्थलगत अध्ययन गरेर दिएको निर्देशनअनुसार नै प्रतिवेदन आएको बताए । प्रतिवेदनलाई पूरक मतसहित अख्तियारमा पठाउने काम गर्नुपर्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया