काठमाडौं । उर्जामन्त्री दीपक खड्काले उद्योगी, व्यवसायीहरूसँग लिनुपर्ने डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने काम छिटै सुरु हुने बताएका छन् ।
पूर्वाधार विकास समितिको बुधबारको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले मन्त्रीपरिषद्ले लाल अयोगलाई आधार मानेर टिओडी मिटरको आधारमा तत्काल पैसा उठाउने निर्देशन दिएको र त्यही निर्देशन बमोजिम मन्त्रालयले प्राधिकरणलाई सहयोग पुर्याउने गरी कमिटी गठन गरेपछि त्यसका विरुद्ध मुद्दा परेर बिचमै रोकिएको बताए ।
उनले अहिले केही आवश्यक कुराहरू संशोधन गरेर तत्काल बक्यौता उठाउने भनेर प्राधिकरणले काम गरिरहेको जानकारी दिए । केही दिनभित्रै बक्यौता उठाउने काम सुरु हुने जानकारी दिए ।
मन्त्री खड्काले भने, ‘हामीले पहिला पनि एउटा कमिटी गठन गरेका थियौँ । क्याबिनेटले पनि लाल अयोगलाई आधार मानेर टिओडी मिटरको आधारमा तत्काल पैसा उठाउने निर्देशन दिएको थियो । त्यही निर्देशन बमोजिम हामीले प्राधिकरणलाई सहयोग पुर्याउने गरी मन्त्रालयले कमिटी गठन गरेको थियो । त्यसका विरुद्ध मुद्दा पर्यो । त्यो बिचमा केही पनि भएन । अहिले केही आवश्यक कुराहरू संशोधन गरेर तत्काल बक्यौता उठाउने भनेर प्राधिकरणले काम गरिरहेको छ । यसमा नियमन आयोग र मन्त्रालयका साथीहरूले सहयोग गरिरहनुभएको छ । केही दिनमा यसको काम सुरु होला । उजुरीहरू आउने, तिर्नेले तिर्ने नतिर्नेले के छ उहाँहरूको अधिकार ? त्यसमा रहेर उहाँहरूले निवेदन दिने काम सुरु हुन्छ । पैसा तिराउन पहल गरिरहेका छौँ । यो चाँडै नै टुंगोमा पुग्छ भन्ने विश्वास छ ।’
मन्त्री खड्काले विषयवस्तुमा बढी केन्द्रित रहेर काम अघि बढाउन समितिसँग आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया