यी हुन् राष्ट्र बैंकका हालसम्मका गभर्नरहरु, को कस्ता ?

लामो रस्साकस्सीबिच नेपाल राष्ट्र बैंकले १८औँ गभर्नर पाएको छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको गत चैत २५ गते कार्यकाल सकिएर राष्ट्र बैंकबाट बिदा भए पनि लामो समय गभर्नर नियुक्त हुन सकेको थिएन । नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार बहालवाला गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिना अगावै गभर्नर नियुक्त हुनुपर्ने प्रावधान रहेको छ । त्यो भनेको ०८१ साल फागुन २५ मै नयाँ गभर्नरुको नाम टुंगो लागिसक्नुपर्ने थियो । तर गभर्नर जस्तो संवेदनशील पदमा समेत राजनीति खिचातानी हाबी हुँदा झण्डै २ महिना कामुको भरमा राष्ट्र बैंक चल्न पुग्यो ।

यसबिचमा गभर्नरका रुपमा विभिन्न नामहरु चर्चामा आएका थिए । एकपछि अर्को नाममा वर्तमान सत्ता गठबन्धनमा सहमति हुन नसक्दा अन्ततः कांग्रेसले अघि सारेका डा. विश्वनाथ पौडेलले १८औँ गभर्नरमा बाजी मारे । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समितिको सिफारिसका आधारमा पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो । गभर्नर पौडेलले बुधबार शपथसहित पदभार समेत ग्रहण गरिसकेका छन् ।

वि.स. २०१३ साल वैशाख १४ गते स्थापना भएको नेपाल राष्ट्र बैंकले आफ्नो सात दशकको इतिहासमा हालसम्म १७ गभर्नरको बिदा गरिसकेको छ । प्रजातन्त्र स्थापनाको ६ वर्षपछि स्थापना भएको राष्ट्र बैंकले १७ सालको राजनीति परिवर्तन, ३० वर्षे पञ्चायती व्यवस्था, ०४६ सालको राजनीतिक परिवर्तन हुँदै ०६२–०६३ को राजनीतिक परिवर्तनसँगै हालसम्म आइपुग्दा विभिन्न शासन कालमा विभिन्न क्षेत्रबाट आएका व्यक्तिलाई गभर्नरको रुपमा भित्र्याएको छ ।

हालसम्म नेपाल राष्ट्र बैंकको गभर्नर को–को भए ? कार्यकाल कति रह्यो र कसरी नियुक्त गरियो लगायतका विषयमा तल चर्चा गरिएको छ ।

हालसम्म को–को भए गभर्नर ?

१. हिमालय शमशेर राणा

नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बन्ने सौभाग्य पाउने व्यक्ति हुन् हिमालय शमशेर जबरा । उनी वि.स. २०१३ वैशाख १४ गतेदेखी २०१७ माघ २५ गतेसम्म गरि जम्मा २ वर्ष ८ महिना राष्ट्र बैंकको गभर्नर बनेका थिए । त्यसअघि उनी ००७ सालको राजनीतिक परिवर्तनपछि ५ वर्ष देशको पहिलो अर्थसचिवको रुपमा अर्थमन्त्रालय तथा अन्य निकायहरुको समेत संस्थापकको रुपमा काम गरेका थिए । पहिलो गभर्नरका रुपमा उनले धेरै सुधारको कामको सुरुवात समेत गरेका थिए । भारतीय मुद्राको मात्र प्रचलनमा ल्याइने तराई क्षेत्रमा समेत नेपाली मुद्रा लागू गरि तराइवासीलाई नेपाली अर्थतन्त्र राज्यको अभिन्न अंग रहेको अनुभव समेत गराएका थिए । राणा धेरै निकायहरुमा संस्थापकको रुपमा काम गरेपनि राष्ट्र बैंकको पहिलो गभर्नरका रुपमा नै परिचित रहेका थिए । राणालाई राजा महेन्द्रले नै नियुक्त गरेका थिए । तर ०१७ सालमा महेन्द्रले जननिर्वाचित सरकार अपदस्त गरेर शासन सत्ता आफ्नो हातमा लिएपछि उनी पनि बर्खास्तीमा परेका थिए । त्यस्तै पछि उनले आफ्नै नामबाट हिमालयन बैंक लिमिटेडको स्थापना गरेका थिए । राणाको ०७९ साल माघमा निधन भएको थियो ।

२. लक्ष्मीनाथ गौतम

नेपाल राष्ट्र बैंकको दोस्रो गभर्नरका रुपमा लक्ष्मीनाथ गौतमले काम गरेका थिए । राजा महेन्द्रले ००१७ साल पुस १ गते आफ्नो हातमा शासनसत्ता लिएपछि उनलाई दोस्रो गभर्नरका रुपमा राजा महेन्द्रले नियुक्त गरेका थिए । गौतमले राष्ट्र बैंकको गभर्नरको रुपमा २०१७ साल माघ २६ गतेबाट २०२२ असार ३ गतेसम्म काम गरेका थिए । जननिवार्चित सरकारलाई अपदस्त गरि महेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएको सुरुवाती समयमा उनी गभर्नर बनेका थिए । उनले त्यस बेला राजा महेन्द्रका नाममा छापिएका पैसाहरुमा हस्ताक्षर गर्ने गरेका थिए ।

३. प्रद्युम्नलाल राजभण्डारी

नेपाल राष्ट्र बैंकका तेस्रो गभर्नरका रुपमा काम कारबाही गर्ने व्यक्ति हुन् प्रद्युम्नलाल राजभण्डारी हुन् । उनले गभर्नर लक्ष्मी नाथ गौतमको कार्यकाल सकिएको भोलीपल्ट अर्थात २०२२ असार ४ गतेबाट नियुक्त भई २०२३ साउन १९ गतेसम्म राष्ट्र बैंकको कार्यभार सम्हाल्ने मौका पाएका थिए । साथै राजा महेन्द्रले सत्ता हातमा लिएर नियुक्त गरिएको कारण पनि उनले पनि राजा महेन्द्रको फोटो भएको मुद्रामा हस्ताक्षर गरेका थिए ।

४. डा. भेषबहादुर थापा

बहुआयामिक व्यक्तिको परिचय बोकेका डा. भेषबहादुर थापा नेपाल राष्ट्र बैंकले चौथो गभर्नर समेत हुन् । राजा महेन्द्रका प्रीय पात्र बनेका उनी वि.स. २०२३ देखी २०२४ सम्म गभर्नरका रुपमा रहेका थिए । त्यसपश्चात् भने उनी अर्थसचिव, अर्थराज्यमन्त्री तथा अर्थमन्त्री समेत बनेका थिए । त्यतिमात्र होईन थापा अमेरिकाका लागि नेपाली राजदूतका रुपमा दुई कार्यकाल तथा भारतका लागि नेपाली राजदूतको रुपमा एक कार्यकाल बिताएका छन् । पञ्चायतकाल भरी राजपरिवारको प्रीय बनेका उनलाई ०६१ साल माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएपछि परराष्ट्रमन्त्री समेत बनाएका थिए ।

नेपालमा पञ्चायतको जग बलियो बनाउन मुख्य भूमिका खेल्ने पात्रका रुपमा रहेका थापालाई नेपालको कुटनीति र परराष्ट्रका सम्बन्धमा विज्ञका रुपमा हेरिन्छ ।

५. डा. यादवप्रसाद पन्त

नेपाल राष्ट्र बैंकका पाँचौ गभर्नर डा. यादव प्रसाद पन्त हुन् । उनी त्यसअघिको तुलनामा लामो समय गभर्नर बन्ने सौभाग्य पाए ।

यादव वि.स. २०२५ वैशाख २ गतेबाट २०३० वैशाख ६ गतेसम्म राष्ट्र बैंकको गभर्नरका रुपमा रहेका थिए । पन्त अर्थशास्त्री तथा अर्थविदका रुपमा चिनिएका छन् । त्यतिमात्र नभएर आफ्ना लेख रचना मार्फत उनले नेपाली अर्थतन्त्रलाइ विश्वसामू चिनाउने काम गरेका थिए । पन्त गभर्नर मात्र नभएर जापानका लागि नेपाली राजदूत, वाणिज्य तथा जलस्रोतमन्त्री र अर्थमन्त्रीका रुपमा समेत काम गरेका छन् । उनी २०४० सालमा लोकेन्द्र बहादुर चन्दको मन्त्रीमण्डलमा जलस्रोत मन्त्री भएका थिए ।

६. कुलशेखर शर्मा

नेपाल राष्ट्र बैंकका छैटौँ गभर्नरका रुपमा कुलशेखर शर्माले आफ्नो कार्यकाल बिताएका थिए । उनले वि.सं २०३० वैशाख १७ गतेबाट २०३६ मंसिर २६ गतेसम्म गभर्नरका रुपमा रहेका थिए । साथै त्यसबेला राजा महेन्द्रको फोटो अंकित नोटमा केवल हस्ताक्षर गर्दै उनले आफ्नो कार्यकाल सकाएका थिए ।

७. कल्याण विक्रम अधिकारी

नेपाल राष्ट्र बैंकको सातौँ गभर्नरका रुपमा कल्याण विक्रम अधिकारी रहेका छन् । उनको कार्यकाल वि.सं २०३६ जेठ ३० गतेदेखि २०४१ मंसिर २३ गतेसम्म रहेको थियो । तत्कालीन राजा वीरेन्द्रको पालामा गभर्नर बनेका कारण उनले वीरेन्द्रको फोटो अंकित नोटमा हस्ताक्षर गरेका थिए ।

८. गणेश बहादुर थापा

गणेश बहादुर थापा राष्ट्र बैंकका आठौँ गभर्नर हुन् । राष्ट्र बैंकको गभर्नरका रुपमा २०४१ मंसिर २३ गतेबाट २०४७ जेठ ८ गतेसम्म कार्यकाल रहेको थियो । उनले आफ्नो राजा वीरेन्द्रको तस्वीर अंकित नोटमा हस्ताक्षर गरि कार्यकाल बिताएका थिए ।

९. हरिकृष्ण त्रिपाठी

नेपाल राष्ट्र बैंकका नवौं गभर्नर बन्ने व्यक्ति हुन् हरिकृष्ण त्रिपाठी । उनले २०४७ साउन २६ गतेबाट २०५१ माघ ३ गतेसम्म राष्ट्र बैंकको गभर्नरको रुपमा कार्यभार सम्हालेका थिए । उनले तत्कालिन राजा वीरेन्द्रको नोटमा अंकित फोटोमा हस्ताक्षर गरेका थिए ।

१०. सत्येन्द्र प्यारा श्रेष्ठ

सत्येन्द्र प्यारा श्रेष्ठ राष्ट्र बैंकको दशौं गभर्नरका रुपमा काम गर्ने अवसर पाएका थिए । उनले २०५१ माघ महिनाको ४ गतेबाट २०५६ गतेसम्म राष्ट बैंकको गभर्नर पदको कुर्सी सम्हालेका थिए । उनले पनि तत्कालिन राजा वीरेन्द्रकै फोटो अंकित नोटमा हस्ताक्षर गरेका थिए ।

११. डा. तिलक बहादुर रावल

राष्ट्र बैंकका ११ औँ गभर्नर बन्ने व्यक्ति हुन् डा. तिलक बहादुर रावल । उनले २०५६ माघ ४ गतेबाट २०५७ भदौ १२ गतेसम्म पहिलो पटक गभर्नर नियुक्त भएका थिए । त्यतिबेला रावललाई भ्रष्टाचारको मुद्धा लागेको थियो । भ्रष्टाचारमा मुसिएपछि उनलाई बर्खास्त गरियो । उनको बर्खास्तीपछि दिपेन्द्र पुरुष ढकाललाई उनको ठाँउमा नियुक्त गरिएको थियो । साथै पछि उनलाई फेरि पुनर्वहाली गरिएको थियो । उनलाई लागेको मुद्धाको छिनोफानो भएसँगै पुनः उनलाई २०६१ साल माघ ४ गतेसम्म राष्ट्र बैंकको ११ औँ गभर्नरको रुपमा रहेका थिए । तर उनले आफ्नो कार्यकालमा दुई राजाको शासन रहेको थियो । २०५८ साल जेठ १९ गते भएको दरवार हत्या काण्डपछि ज्ञानेन्द्र वीरेन्द्रको उत्तराधिकारीका रुपमा आएका थिए ।

१२. दिपेन्द्र पुरुष ढकाल

नेपाल राष्ट्र बैंकका १२ औँ गभर्नरका रुपमा दिपेन्द्र पुरुष ढकाललाई नियुक्त गरिएको थियो । ११औँ गभर्नरका रुपमा रहेका तिलक बहादुर रावललाई आर्थिक अनियमितताको मुद्धा लागेपछि उनलाई नियुक्त गरिएको थियो । उनको कार्यकाल २०५७ भदौ १३ गतेबाट २०५८ वैशाख ४ गतेसम्म रहेको थियो । तर पछि पुनः तिलक बहादुर रावललाई पुनर्वहाली गरिएपछि ढकाललाई अन्य स्थानमा स्थानान्तरण गरिएको थियो ।

१३. विजयनाथ भट्टराई

विजयनाथ भट्टराइ नेपाल राष्ट्र बैंकका १३औँ गभर्नर तथा गणतान्त्रिक नेपालका पहिला गभर्नरका रुपमा समेत उनले आफ्नो कार्यभार सम्हालेका थिए । उनले २०६१ माघ १८ गतेदेखि २०६५ माघ २ गतेसम्म सम्हालेका थिए । साथै उनको कार्यकालमा कायम मुकायम गभर्नर कृष्ण बहादुर मानन्धरले पनि मुद्रामा हस्ताक्षर गरेको थिए । उनलाई गभर्नर रहेको अवस्थामा रहेकै बेलामा भष्ट्रचारको आरोप लागेको थियो । त्यसैक्रममा उनलाई बर्खास्त समेत गरियो साथै छानविन पश्चात उनलाई पुनर्ववहाली गरिएको थियो । समग्र उनको कार्यकाल २०६६ माघ २६ गतेसम्म रहेको थियो ।

१४. दिपेन्द्र बहादुर क्षेत्री

नेपाल राष्ट्र बैंकको १४औँ गभर्नर दिपेन्द्र बहादुर क्षेत्री । राष्ट्र बैंकका १३औँ गभर्नरका रुपमा रहेका विजयनाथ भट्टराई वर्खास्त हुनासाथ उनलाई नियुक्त गरिएको थियो । उनको कार्यकाल २०६५ माघ २ गतेबाट २०६६ साउन ११ गतेसम्म राष्ट्र बैंकको गभर्नरका रुपमा रहेका थिए । त्यतिमात्र नभएर क्षेत्री राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भएका थिए । साथै क्षेत्री अर्थविद् समेत हुन् ।

१५. डा युवराज खतिवडा

पूर्वअर्थमन्त्री समते रहेका डा. युवराज खतिवडा राष्ट्र बैंकका १५औँ गभर्नर हुन् । खतिवडाले २०६६ चैत ९ गतेबाट २०७१ साल चैत ५ गतेसम्म राष्ट्र बैंकको गभर्नरका रुपमा रहेका थिए । उनले कोलम्बो यूएनडीपी रिजनल सेन्टरमा तीन वर्ष वरिष्ठ अर्थशास्त्रीको रुपमा काम गरेका थिए । त्यस्तै उनी गभर्नर हुनुभन्दा अघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भएर समेत काम गरेका थिए । शैक्षिक योग्यताको हिसावमा खतिवडाले दिल्ली स्कुल अफ इकोनोमिक्स, दिल्ली विश्वविद्यालयबाट २०४७ मा वित्तीय अर्थशास्त्रमा पिएचडी गरेका थिए । विभिन्न आकर्षक पदमा रहेर काम गरिसकेका खतिवडा हाल प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक तथा विकास सल्लाहकार रहेका छन् । उनी यसअघि अमेरिकाका लागि नेपाली राजदूतका रुपमा समेत काम गरिसकेका छन् ।

१६. डा चिरञ्जीवी नेपाल

आफ्नो कार्यकालमा चुनौतीपूर्ण अवस्था भोगेका डा. चिरञ्जीवी नेपाल नेपाल राष्ट्र बैंकका १६औँ गभर्नर हुन् । २०७१ साल चैत ५ गतेबाट २०७६ साल चैत २४ गतेसम्म गभर्नरका रुपमा रहेका थिए । उनको कार्यकालमा ०७२ सालको महाविनाशकारी भूकम्प र त्यसपछि भारतीय नाकाबन्दी समेत देशले भोगेको थियो । गभर्नर नियुक्त हुनुअघि उनी सुशिल कोइराला प्रधानमन्त्री बनेका बेला आर्थिक सल्लाहकारको रुपमा समेत काम गरेका थिए । अर्थशास्त्री रहेका उनी अर्थमन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार, उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख सल्लाहकार, धितोपत्र बोर्डका कार्यकारी अध्यक्ष लगायत विभिन्न संघ संस्थाहरुमा समेत संलग्नता रहेको थियो ।

१७. महाप्रसाद अधिकारी

उतारचढापूर्ण वातावरणमा आफ्नो कार्यकाल बिताएका पात्र हुन् नेपाल राष्ट्र बैंकका १७औँ गभर्नर महाप्रसाद अधिकारी । २०७६ साल चैत २६ गते गभर्नर नियुक्त भएका उनी ०८१ साल चैत २५ गते आफ्नो पूर्ण कार्यकाल बिताएर राष्ट्र बैंकबाट बिदा भएका हुन् ।

केपी शर्मा ओली यसअघि प्रधानमन्त्री रहेका बेला उनी गभर्नर नियुक्त भएका थिए । तर संसद् विघटनपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बने साथै अर्थमन्त्रीमा माओवादीका जनार्दन शर्मा आएका थिए । सुरुबाटै अर्थमन्त्रीसँग मनमुटावका कारण उनलाई सरकारले निलम्बन समेत गरेको थियो । त्यस्तै उनी गभर्नर रहेकै बेला नेकपा एमालेको पूर्णकालीन सदस्य रहेको भन्दै आलोचना समेत भएको थियो । कोरोना कालमा गभर्नर रहेका महाप्रसाद अधिकारी गभर्नरका रुपमा विवाद र चर्चामा आफ्नो कार्यकाल बिताएका थिए ।

१८. डा. विश्वनाथ पौडेल

नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर बनेको पात्र हुन् डा. विश्वनाथ पौडेल । यसअघि ०८१ साल फागुनमै गभर्नरको टुंगो लागिसक्नुपर्नेमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई गभर्नर नियुक्त गरेको हो । उनी नेपाली कांग्रेसका नेता समेत हुन् । उनी गत निर्वाचनमा चितवन क्षेत्र नं १ बाट उम्मेदवार बनेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले चुनाव जित्दा उनी तेस्रो भएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, देउवापत्नी समेत रहेकी बहालवाला परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको विश्वासपात्र रहेका कारण उनलाई गभर्नर नियुक्त गरिएको चर्चा चलिरहेको छ । यद्यपि उनको कार्यकाल हेर्न भने बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?