काठमाडौं । नेकपा एमाले सांसद दयालबहादुर शाहीले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै एउटा कर्मचारी हटाउँदा तीन दिनसम्म रुने गरेको टिप्पणी गरेका छन् ।
पूर्वाधार विकास समितिको बुधबारको बैठकमा बोल्दै उनले कर्मचारीलाई आफ्नो रोल मोडल जस्तो बनाएर रुने असर माओवादीमा रहेको टिप्पणी गरेका हुन् ।
उनले अमेरिकाले त्यत्तिका कर्मचारी र कार्यक्रमहरू हटाउँदा कहीँ पनि विरोध नहुने तर नेपालमा भने रोई कराइ गर्ने परिस्थिति निर्माण भएको भन्दै दुःख व्यक्त गरे ।
उनले एउटा कर्मचारी हटाउँदा रुने व्यक्तिहरूले नै कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने आवाज उठाइरहेको भन्दै नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङको व्यवस्थापकीय क्षमता राम्रो रहेको पनि बताए ।
उनले भने, ‘केही कुरा के छ भने हल्लाको पछि हामी लागेका छौँ । अमेरिकाले त्यत्तिका कर्मचारी हटायो, त्यत्रा प्रोग्राम खारेज गर्यो, त्यहाँ रोइ कराइ छैन । एक कर्मचारी हटाउँदा उनै साथी के भन्छन् भने राष्ट्रपति सिस्टममा जाऔँ । यो सिस्टम खराब भयो भन्छन् । राष्ट्रपतीय प्रणाली आएपछि त डोनाल्ड ट्रम्प भन्दा बलियो राष्ट्रपति हुन्छ हाम्रो । उनै साथीहरू एउटा कर्मचारी हटाउँदा रोइ कराइ छ । कुलमान घिसिङका व्यवस्थापकीय क्षमता राम्रो हो । उहाँले आयव्यय देखाउँदा कुनै तिर्नुपर्ने दायित्व छुटाएर नाफा देखाउनुभएको थियो । अहिलेकोले तिर्नुपर्ने दायित्व देखाएर घाटामा छौँ भन्नुभएको छ । सबैले पढेका छौँ त । हिजो माक्स, महात्मा गान्धी, लेनिन भन्थ्यौँ । अहिले हामी राजनीतिक मान्छेहरू घटेर कालिदासको सानो कमा अड्किएर बसेका छौँ । कर्मचारीलाई ठुलो बनाएर बसेका छाैँ । कुलमान कुलमान गरेर तीन दिनसम्म रुने बानीको असर पनि कतै कतै छ ।’
नेकपा एमालेकै सांसद प्रेमबहादुर महर्जनले कुलमान घिसिङ बिदाइ हुँदै गर्दा र हितेन्द्र शाक्य आइसकेपछि विद्युत् प्राधिकरण अर्बौँ रुपैयाँ घाटामा गयो भन्ने कुराको स्पष्ट जवाफ दिन आग्रह गरे ।
उनले भने, ‘कुलमान घिसिङ बिदाइ हुँदै गर्दा र हितेन्द्र शाक्य आइसकेपछि विद्युत् प्राधिकरण अर्बौँ रुपैयाँ घाटामा गयो भन्ने कुरा छ । यसबारेमा स्पष्ट पारिदिनुहोला । लोड सेडिङको विषयमा पनि स्पष्ट ढंगबाट जनतालाई स्पष्ट पार्नुपर्छ ।’
समितिको बैठकमा बोल्दै जनता समाजवादी पार्टीकी सांसद सुशीला श्रेष्ठले साझा समस्या सोचेर मुलुकको लागि काम गरे सफलता हात लाग्ने बताइन् । उनले राम्रो मान्छे छान्ने भन्दा पनि भागबण्डाको लागि काम भइरहेको भन्दै आपत्ति जनाइन् ।
बेथितिलाई थितिमा परिणत गरेर काम गर्नुपर्ने भन्दै सरकारले राम्रो काम गरेको छ भनेर जनताको बिचमा बोल्न पाउने परिस्थिति निर्माण गरिदिन आग्रह गरिन् ।
उनले भनिन्, ‘हामीले मुलुकको लागि काम गरौँ । साझा भएर गरौँ । राम्रो मान्छे छान्ने भन्दा पनि भागबण्डाको लागि काम भइरहेको छ । बेथितिलाई थितिमा परिणत गरौँ । राज्य नै हाम्रो अभिभावक हो । हामी नीति बनाउन आएका छौँ । साझा मुद्दा बनाएर काम गरौँ । सरकारले राम्रो काम गरेको छ भनेर जनताको बिचमा बोल्न पाउने परिस्थिति बनोस् ।’
समितिको बैठकमा बोल्दै नेपाली कांग्रेस सांसद शंकर भण्डारीले आग्रह पूर्वाग्रहबाट माथि उठ्न नसकेसम्म समग्रमा अरू कुनै तर्कले मुलुक बनाउन नसकिने बताए । देशको सबैभन्दा ठुलो समस्या नै आग्रह र पूर्वाग्रह रहेको बताए ।
उनले भने, ‘आग्रह पूर्वाग्रहबाट हामी जबसम्म माथि उठ्दैनौँ, समग्रमा तबसम्म अन्य कुनै पनि तर्कले मुलुक बनाउन सक्दैनौँ । हाम्रो मुलुकको सबैभन्दा ठुलो समस्या नै आग्रह र पूर्वाग्रह हो । जबरजस्त ढंगले विरोध गर्नु हो । विद्युत् प्राधिकरण कसरी घाटामा छ हिजो नाफामा गएको हो भने त्यसलाई फेरि पुनःताजकी दिने कुरामा समिति र सरकार, कर्मचारी साथीहरू अघि बढाऔँ ।’
राष्ट्रका समस्याहरूलाई सबैले आफ्नो साझा मुद्दा बनाएर अघि बढ्ने हो भने देशको विकासले लय समात्ने उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया