काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा हिजो सुरु भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । तर आज बुधबार एक जना न्यायाधीश उपलब्ध नहुने भएपछि सुनवाइ स्थगित गरिएको हो ।
न्यायाधीश सुवेदी आज संवैधानिक इजलासमा बस्नु पर्ने भएकाले उनी आज रविको सुनवाइ गर्न नसक्ने भएका हुन् ।
बुधबार सर्वोच्च अदालत प्रशासनले नै निवेदनको सुनुवाइ स्थगित भएको भनी पेशी सूची प्रकाशित गरेको छ ।
रविको निवेदन सुनुवाइ गर्ने इजलासमा रहेका न्यायाधीश डा. नहकुल सुवेदी संवैधानिक इजलासमा छन् भने अर्का न्यायाधीश बालकृष्ण ढकाल छुट्टै इजलासमा परेका छन् ।
मंगलबार रवि पक्षका वकिलहरू वरिष्ठ अधिवक्ता सुशील पन्त, रमण श्रेष्ठ, सुरेन्द्र थापा, मेघराज पोखरेल, अधिवक्ताहरू नारायणदत्त कँडेल, जितेन्द्र झा, राजेन्द्र सेढाइँ, सुदिक्य पन्तलगायतले बहस गरेका थिए ।
यो मुद्दा ६ पटकसम्म हेर्न नमिल्नेमा परेको थियो । मंगलबार भने सुवेदी र ढकालको इजलासमा सुनुवाइ भएको थियो ।
सुरुमा वैशाख ८ गते न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेकोमा उक्त इजलासले हेर्न मिलेको थिएन । त्यसको भोलिपल्ट वैशाख ९ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो ।
वैशाख २८ गते न्यायाधीशहरू सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल, वैशाख ३० गते हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठ र वैशाख ३१ गते नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासमा हेर्न नमिल्नेमा परेको थियो । जेठ ४ गते न्यायाधीश मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले पनि हेर्न नमिल्ने भएको थियो । पटकपटक हेर्न नमिल्ने भएपछि उक्त इजलासले हेर्न नमिल्ने बाहेकले गोला तान्न आदेश दिएको थियो।
सोमबार प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत र पाण्डेयको इजलासमा परेको थियो । तर न्यायाधीश पाण्डेय र जोशीका वकिल अधिवक्ता पुष्पराज पाण्डेय आफन्त परेपछि हेर्न नमिल्नेमा राखिएको थियो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त बेरितको आदेश बदर गर्न माग गर्दै लामिछाने र सरकारी वकिल उच्च अदालत पुगेका थिए । त्यसमा सुनुवाइ गरेसँगै लामिछानेलाई कारागार चलान गर्न आदेश भएको थियो । उच्च अदालतको आदेशसँगै चैत २२ गते नै साँझ काठमाडौंस्थित हात्तीगौडा निवासबाट प्रहरीले लामिछानेलाई पक्राउ गरी रुपन्देही पुर्याएर कारागार चलान गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया