काठमाडौं । लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धिका लागि युएनएफपीए र मनकामना दर्शन प्रालिबिच सहयोग सम्झौता भएको छ ।
यस साझेदारीमार्फत दुवै पक्षले आगामी २ वर्षसम्म हिंसा विरुद्धको पैरवी, क्षमता अभिवृद्धि, हिंसा प्रभावित महिला तथा किशोरीको पुनःस्थापना गरी सुरक्षित र समावेशी वातावरण निर्माण गर्ने उद्देश्य राखिएको छ ।
मनकामना दर्शन प्रालिले लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धिका लागि केबल कार परिसरमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य सम्बन्धी सूचना सामग्री, हिंसा विरुद्धको अधिकार तथा न्याय प्राप्तिका लागि गरिने कार्य, प्रत्याभूति गर्ने निकाय सम्मको पहुँच विस्तार लगायतबारे सूचना सामग्री राख्नेछ ।
यस साझेदारीमार्फत हिंसा प्रभावितका लागि आय आर्जनको अवसर प्रदान गर्दै जीविकोपार्जनमा सहजीकरण गरिने युएनएफपीएकी प्रतिनिधि कमला खत्री विष्टले बताइन् । मनकामना दर्शनका कर्मचारीलाई महिलालाई सुरक्षित हुने गरी कसरी राख्न सकिन्छ भन्ने प्रशिक्षण दिइने बताइन् ।
हस्ताक्षर समारोहमा बोल्दै युएनएफपीएकी प्रतिनिधि योङ हौङले युएनएफपीएले राखेको लक्ष्य प्राप्त गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताइन् ।
मनकामना दर्शन प्रालिका यसु श्रेष्ठले लैङ्गिक समानता र सामाजिक उत्तरदायित्व प्रति संस्थागत प्रतिबद्धता जाहेर गर्दै युएनएफपीए सँगको साझेदारीमा हिंसा विरुद्धको अभियानमा संलग्न हुन पाउनु गौरवको विषय रहेको उल्लेख गरे ।
सम्झौतामा, युएनएफपीएको तर्फबाट योन योङ हङ्ग र मनकामना दर्शन प्रालिका तर्फबाट यसु श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया