काठमाडौं । नागढुङ्गा–नौबिसे सडकखण्ड निर्माणका लागि साढे ४ घण्टा बन्द गरिने भएको छ । यही जेठ १० गतेदेखि २५ गतेसम्म प्रत्येक दिन बिहान १०:३० बजेदेखि दिउँसो ३:०० बजेसम्म सडक पूर्णरूपमा बन्द गरिने भएको हो ।
धादिङ जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर उक्त निर्णय गरिएको हो ।
यसअघि वैशाख २२ देखि ३१ गतेसम्म रातिको समयमा मात्र सडक बन्द गरी निर्माण कार्य भइरहेको थियो । अब भने प्रविधिक कारणले आवश्यक काम दिनको समयमा गर्नुपर्ने भएकाले दिउँसो नै सडक बन्द गर्न लागिएको हो ।
हाल नागढुङ्गादेखि नौबिसेसम्मको सडकको मोड सुधार, चौडाइ विस्तार तथा पिचको काम भइरहेको छ । रातिको समयमा भत्काउने काम सम्पन्न भइसकेकाले अब दिनको समयमा बाँकी निर्माण कार्यलाई अघि बढाउन लागिएको हो ।
सडक बन्द हुने अवधिमा स्थानीय प्रशासनले धार्के–सितापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी मार्ग प्रयोग गर्न यात्रु र सवारीसाधनलाई अनुरोध गरेको छ।
यस क्रममा काठमाडौंबाट बाहिरिने सवारी नागढुङ्गामा रोकिनेछ भने बाहिरबाट काठमाडौं प्रवेश गर्ने सवारी खानीखोलामा थुनिनेछ। यात्रुहरूलाई असहज नहोस् भनेर वैकल्पिक मार्गको प्रयोगमा जोड दिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया