काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले दण्डहीनतालाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस आर्थिक नीति तथा योजना विभागद्वारा आयोजित बदलिँदो विश्व परिवेशमा नेपालले अंगाल्नुपर्ने आर्थिक नीति विषयक अन्तरक्रियामा बोल्दै उनले भ्रष्टाचारमा लिप्त भएकै कारणले मुलुक बन्न नसकेको टिप्पणी गरेका हुन् ।
उनले अमेरिका, बेलायत लगायतका मुलुकमा बसोबास गर्ने अथवा काम गर्नेले नेपालमा पैसा पठाउनुको साटो यहाँका घरजग्गा विक्री गरेर उतै घरबार जोड्ने गरेको बताए । ठुला देशमा बस्नेहरुबाट भन्दा खाडीमा श्रम गरेका नेपालीले मुलुकको अर्थतन्त्र धानेको उनको भनाइ थियो । सबैतिर भ्रष्टाचार र अनियमितता रहेको भन्दै आलोचना गरे ।
उनले भने, ‘हामी देश बनाउन नसक्ने होइनौँ, हामी अल्मलिएका छौँ । गुड गभर्मेण्ट छैन । सबैतिर करप्सन छ । सरकारले दण्डहीनतालाई प्रोत्साहन दिनु हुँदैन । त्यसको अन्त्य गर्नुपर्छ । त्यति कुरा हामीले रोक्न सक्यौँ भने नेपाललाई बनाउन सकिन्छ । देश बनाउने इच्छाशक्ति प्रधानमन्त्री र सरकारको हुनुपर्छ । मुलुकको अर्थतन्त्रमा देखिएको चहलपहल रेमिट्यान्सबाटै हो । देशको अर्थतन्त्र खाडीमा गएका नेपालीहरूले धानिरहेका छन् ।’
उनले देशको अर्थतन्त्रमा भइरहेको चहलपहल रेमिट्यान्सबाट मात्रै भएको र खाडीमा गएका नेपालीहरूले धानिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया