राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

लोकपथ
3.1k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो ।

उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै पौडेलसहित तीन जनाको नाम १८ औँ गभर्नरका रूपमा सिफारिस गरेको थियो । समितिले पौडेलसहित कामु गभर्नर निलम ढुङ्गाना र पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको भए पनि मन्त्रीपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंकमा लामो समयदेखि गभर्नरको पद रिक्त थियो । गत चैत २३ गते गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त रहेको थियो । तर सत्तारुढ दलमा कसलाई गभर्नर बनाउने भन्ने विषयमा विवाद सहमति जुट्न नसक्दा लामो समयदेखि गभर्नर पद रिक्त रहेको थियो ।

सत्तारुढ दलबिच भएको सहमति अनुसार गभर्नरमा नेपाली काँग्रेसले सिफारिस गरेका व्यक्तिले नेतृत्व पाउने भएका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुमा काँग्रेसले सिफारिस गरेका पौडेलको नाममा सहमति जनाएका थिएनन् । तर काँग्रेसले पौडेलबाहेक अन्य कुनै पनि व्यक्ति सिफारिस नगर्ने अडान लिएपछि गभर्नरमा सहमति जुट्न सकेको थिएन ।

सोमबार साँझ मन्त्रीपरिषद् बैठक बसी गभर्नर नियुक्त गर्ने भनिए पनि पौडेलको नाममा सहमति नबनेको कारण देउवा सत्तारुढ दलको बैठकमै गएका थिएनन् । त्यसपछि सोमबारको बैठक स्थगित भएको थियो ।

काँग्रेस पौडेलको नामबाट पछाडि नहटेपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि पौडेललाई नै गभर्नर बनाउन राजी भएपछि मंगलबार मन्त्रीपरिषद्को बैठक राखी गभर्नर नियुक्त गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?