काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरूले चाहने हो भने शान्तिपूर्ण ढंगबाट राजसंस्था संस्थागत गर्न सकिने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सबै राजनीतिक दलहरूको सहमति भए शान्तिपूर्ण ढंगबाट सहमति र समझदारीको आधारमा यही संविधानबाट नै राजसंस्था संस्थागत गर्न सकिने उनको भनाइ छ ।
उनले आफूहरूले राजसंस्था पुनः स्थापनाका लागि गर्न लागेको आन्दोलन संविधान विपरीत नभएको जिकिर गरे ।
संविधानको धारा २७४ ले सार्वभौमिकता, स्वाधीनता, जनतामा निहित सार्वभौम सत्ता बाहेक सबै विषय परिवर्तन गर्नसक्ने अधिकार सुनिश्चित गरेको बताए । उनले राजनीतिक दलहरूको सहमतिमा जनताले चाहे संघीय धर्मनिरपेक्ष गणतन्त्र पनि परिवर्तन गर्न सकिने उल्लेख गरे ।
उनले भने, ‘यदि राजनीतिक दलहरूले चाहने हो भने शान्तिपूर्ण ढंगबाट सहमति र समझदारीको आधारमा यही संविधानबाट नै संस्थागत गर्न सकिन्छ । यो आन्दोलन संविधान विपरीत पनि होइन । संविधानको धारा २७४ ले सार्वभौमिकता, स्वाधीनता, जनतामा निहित सार्वभौम सत्ता बाहेक सबै विषय परिवर्तन गर्नसक्ने अधिकार सुनिश्चित गरेको छ । सबै राजनीतिक दलहरूको सहमतिमा जनताले चाहे संघीय धर्मनिरपेक्ष गणतन्त्र पनि परिवर्तन गर्न सकिन्छ, राजसंस्था र हिन्दु राष्ट्र पनि स्थापना गर्न सकिन्छ भन्ने अधिकार संविधानले नै सुनिश्चित गरेको छ ।’
अध्यक्ष थापाले संविधानले अभिव्यक्ति, स्वतन्त्रता र बिना हात हतियार भेला हुने अधिकार जनतालाई दिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया