‘कलाका सबै विधाको विकास गर्ने प्रतिष्ठानको लक्ष्य’

लोकपथ
35
Shares

भोजपुर । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले विद्यमान कलाका सबै विधाको विकास गर्ने प्रतिष्ठानले लक्ष्य लिएको बताएका छन् । 

भोजपुर नगरपालिकासँगको सहकार्यमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले जिल्ला सदरमुकाममा आज आयोजना गरेको एक दिवसीय गोष्ठीमा कुलपति हार्तम्छालीले प्रतिष्ठानको स्थापना, उद्देश्य, गर्दै आइरहेका कार्यहरू, समस्या र चुनौतीका विषयमा सहभागीलाई जानकारी गराएका थिए । 

चित्रकला, परम्परागत, शिल्पकला, लोककला, हस्तकला, वास्तुकला, वैकल्पिक तथा अन्य सृजनात्मक कलाका लागि प्रतिष्ठानमा विभिन्न विभागहरू समेत गठन भएको उनले बताए। रैथाने कलाको संरक्षण र संवर्द्धन जरुरी रहेकोमा उनले जोड दिए । 

भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले ललितकलालाई प्रोत्साहन जरुरी रहेको बताउँदै गुरुयोजना निर्माणमा ध्यान नदिँदा घरेलु उद्योग धराशायी बन्दै गएको बताए। संस्थागत रूपमा आफ्ना मागहरू राख्न व्यवसायीलाई आग्रह गर्दै नगर प्रमुख आलेले उत्पादनसँगै बजारीकरणका लागि सरकारले सुनिश्चित गर्नसकेमा हस्तकलाकर्मीहरूलाई प्रोत्साहन हुने धारणा राखे । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका हस्तकला विभाग प्रमुख प्राज्ञ अरुणा हिङ्माङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिष्ठान पदाधिकारी, नगर प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, विभिन्न घरेलु व्यवसायी, धातु व्यवसायी, कालीगढ, उद्योगी व्यवसायी, महिला, पत्रकारलगायतको सहभागिता थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?