संवैधानिक परिषद्लाई अनिर्णयको बन्दी बनाउन हुँदैन : मन्त्री गुरुङ

लोकपथ
224
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संवैधानिक परिषद् बैठकलाई अनिर्णयको बन्दी बनाउन नहुने बताएका छन्।

राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिको आज बसेको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा उनले यस्तो बताएका हुन् । 

मन्त्री गुरुङले नियमित रूपमा बैठक नबस्दा नियुक्ति प्रक्रियामा ढिला भइरहेको बताए। ‘संवैधानिक परिषद्को बैठक नियमित हुन नसक्दा नियुक्ति प्रक्रियामा ढिलाइ हुने गरेको छ । परिषद् बैठक नियमित बस्ने वातावरण बनाउन जरुरी छ । कुनै पनि कारणले परिषद्लाई अनिर्णयको बन्दी बनाउन हुँदैन,‘उनले भने।

मन्त्री गुरुङले परिषद्ले सकेसम्म सर्वसम्मत सिफारिस गर्ने वातावरण बनाउनुपर्ने, प्रमुख प्रतिपक्ष नियमित बैठकमा आउने र राज्यका काम कारबाहीलाई चुस्त दुरुस्त राख्न सबैले एक भएर काम गर्नुपर्नेमा जोड दिए ।

उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै सदस्यहरू भुवनबहादुर सुनार, गोपीबहादुर सार्की अछामी मदनकुमारी शाह गरिमा, घनश्याम रिजाल, भगवती न्यौपाने, रेणु चन्द, शुरेसकुमार आलेमगरलगायतले संविधानको मर्म र भावनाअनुसार नै विधेयक संशोधन गर्नुपर्ने धारणा राखे ।

समितिका सभापति तुलसाकुमारी दाहालले परिषद् ऐन संशोधनका लागि आज सैद्धान्तिक छलफल भएको र आगामी बैठकमा विस्तृत रूपमा दफावार छलफल हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?