‘गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछ’

लोकपथ
112
Shares

गोरखा । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान गठबन्धन सरकार तोडिने अवस्था नरहेको बताएका छन् । आज गोरखाका पत्रकारहरूसँग अन्तरक्रिया गर्दै उनले बजारमा चलेका अफवाहको पछाडि नलाग्न पनि आग्रह गरे। 

‘म अनावश्यक सूचनाको पछि नलाग्न म अनुरोध गर्दछु, ‘उनले भने ‘यो गठबन्धन उच्च कोटीको भएकाले एक अर्काको दृष्टिकोणलाई बुझ्नुपर्दछ । गठबन्धन भन्ने बित्तिकै त्यहाँ साझा दृष्टिकोणको आवश्यकता पर्दछ ।’ 

उनले गभर्नर नियुक्तिको प्रक्रियाले चाँडै निकास पाउनेमा समेत विश्वास व्यक्त गरे ।  ‘अहिले कुनै पनि दलसँग स्पष्ट बहुमत ल्याउन नदिएकाले गठबन्धनको सरकार बनाउनु परेको हो । यसअघिका गठबन्धनभन्दा यो गठबन्धन बलियो भएकाले यसमा शङ्का, उपशङ्का उत्पन्न हुने खालका वातावरण सिर्जना हुनबाट जोगाउन सरकारमा रहेकाहरू बढी जिम्मेवार हुनुपर्छ ।’

आफू यसअघि अर्थमन्त्री हुँदा अस्तव्यस्त अर्थतन्त्रलाई सही ठाउँमा ल्याउन सफल भएको दाबी गर्दै उनले भने, ‘अहिले केही न केही सुधार भएको छ तर यति सुधारले हामी सन्तुष्ट छैनौँ, अब दोस्रो चरणको सुधारको योजना अघि बढ्नुपर्छ ।’ उनले संसद्बाट अर्थसम्बन्धी पाँच वटा विधेयक पास भएको पनि उल्लेख गरे। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?