आफूविरुद्ध समाचार आएपछि गणपति धितालद्वारा मातहतका कमान्डरमाथि केरकार, रासनबाटै मासिक २ लाख असुली

लोकपथ
10.7k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलको २९ नं. ज्वालामाई गण दाङका  गणपति एसपी मनोज धितालले ट्याक्टर व्यवसायी र मातहत कार्यालयबाट पैसा उठाएको कुरा लोकपथ डटकममार्फत सार्वजनिक भएपछि आफू मातहतका कमान्डरमाथि केरकार सुरु गरेका छन् । लोकपथ डटकमले यसअघि उनको कमाउधन्दाबारे समाचार प्रकाशन गरेको थियो । 

समाचार प्रकाशन भएपछि उनले कसले समाचार दियो भन्दै मातहतका कमान्डरमाथि केरकार सुरु गरेको एक कमान्डरले बताए ।  ‘यति कुरा पनि गोप्य राख्न नसक्ने’ भन्दै थर्काएको एक कमान्डरले लोकपथलाई बताए । 

ती कमान्डरका अनुसार, समाचार प्रकाशित भएपछि उनले सञ्चार मार्फत सबै कमान्डरलाई फोन गर्न आदेश दिएका थिए । 

मासिक रूपमा पैसा उठाउने अनि फेरि त्यो कुरा बाहिरियो भन्दै रिसाउने के तरिका हो भन्दै एक कमान्डरले प्रश्न गरे । 

उनले आफू कार्यालय प्रमुख रहेको गणबाट पनि रासनबाट मोटो रकम उठाउँदै आएका छन् । मासिक २ लाख रुपैयाँसम्म रासनबाट बचत गरेर उनलाई बुझाउनु पर्ने स्रोतको दाबी छ । अहिले गणमा ४५ प्रतिशतसम्म बिदा आउटमा हुने गरेको बताइन्छ । ‘पैसा भनेपछि मरिहत्ते गर्ने बानी रहेछ एसपी साबको,’ गणका एक कर्मचारी चिन्तित हुँदै भने । 

लोकपथ डटकमले यसअघि ‘सशस्त्रका एसपी धितालको गैरकानुनी धन्दाले सीमा नाघ्यो, व्यवसायी नै उत्रन थाले प्रतिकारमा’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । 

समाचारमा लेखिएको थियो, ‘सशस्त्र प्रहरी बल दाङका गणपति एसपी मनोज धितालको गैरकानुनी धन्दाले सीमा नाघेको छ । एसपी धितालले आफू मातहतको गुल्म र बेसका कमान्डरलाई ‘जसरी पनि मासिक रूपमा पैसा बुझाउनु’ भन्ने आदेश दिएकाले गुल्मका डीएसपी र बेसका नायव निरीक्षक (सई) हरू पनि गैरकानुनी धन्दामा लाग्न बाध्य भएका छन् । 

केही दिनअघि तुलसीपुर गुल्मका डीएसपी नरेश खड्काले त्यहाँका गिटी र बालुवा व्यवसायी र ट्याक्टर व्यवसायीलाई धम्क्याएका थिए । उनले व्यवसायीलाई धम्क्याउँदै महिनावारी बुझाउन निर्देशन दिएका थिए । एसपी धिताललाई जसरी पनि मासिकरुपमा रकम बुझाउनु परेपछि डीएसपी खड्काले गिटी र बालुवा व्यवसायीलाई धम्क्याएको बताइएको छ । उनले धम्क्याएपछि ती व्यवसायीले प्रतिकार गर्दा ठूलै लफडासमेत भएको थियो । 

एसपी धिताललाई तुलसीपुर र घोराहीमा रहेको कारागार सुरक्षा बेस, कोइलाबासमा कार्यरत डीएसपीले पनि मासिक रूपमा रकम बुझाउनुपर्ने हुन्छ । उनीहरूबाट मासिक २५/२५ हजार रुपैयाँका दरले बुझाउनु पर्ने स्रोतको दाबी छ । त्यति मात्र होइन दाङको सीमा नाकामा रहेका कोइलाबास, सुनपत्थरी, भैसाही, खांग्रालगायतका सबै बीओपी बाट समेत एसपी धितालले असुल्दै आएका छन् । ‘मासिक नबुझाए छड्के निरीक्षण भन्दै दुःख दिन्छन्, त्यसैले नबुझाए सुखै छैन,’ एक जना बीओपीपतिले गुनासो गरे । 

एसपीलाई रकम बुझाउनकै लागि सीमामा रहेका युनिटमा ६० प्रतिशतसम्म बिदा आउटमा छोड्ने गरिएको बताइन्छ । दाङका प्रायः सबै बीओपीमा सईले कमान्ड गर्छन् । गणपतिलाई मासिकरुपमा रकम बुझाउनु पर्ने भएपछि तनावको जिन्दगी जिउनु परेको ती सईले बताए ।’ 

यो पनि : सशस्त्रका एसपी धितालको गैरकानुनी धन्दाले सीमा नाघ्यो, व्यवसायी नै उत्रन थाले प्रतिकारमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?