सिन्धुमा मोहन बस्नेतको शक्ति प्रदर्शन, पालिकाको ‘उर्दी’ लाई चुनौती दिँदै स्वास्थ्यचौकी उद्घाटन

लोकपथ
3.8k
Shares

काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेतले स्वास्थ्य चौकीभवन उद्घाटन गरेका छन् ।

मंगलबार दिउँसो आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने सुनकोशी गाउँपालिका वडा नं २ को ठोकर्पामा निर्मित स्वास्थ्यचौकी भवन उद्घाटन गरेका हुन् ।

त्यसो त टेलिकम्युनिकेशन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अनियमितता गरेको आरोपमा बस्नेत निलम्बनमा परेका छन् । गत जेठ १ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेर सांसद पदनै निलम्बनमा पर्दा समेत पूर्वनिर्धारित कार्यक्रममा जान लागेको भन्दै पालिकादेखि राजनीतिक दलसम्मले प्रश्न उठाइरहेका थिए ।

सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले त विज्ञप्ति नै जारी गरेर त्यहाँ गाउँपालिका भवन उद्घाटन नगर्न उर्दी नै जारी गरेका थिए । यसअघि सांसदको हैसियतमा विभिन्न सरकारी भवनहरु उद्घाटन गर्न दिएको तर विशेष अदालतमा मुद्दा दायर भएका अभियुक्तले सरकारी भवन उद्घाटन गर्नु कानुनसम्बत नरहने भन्दै कुनै पनि जनप्रतिनिधिलाई उपस्थित नहुन समेत निर्देशन दिएका थिए ।

‘विगतमा कुनै मुद्दा नरहेको अवस्थामा श्री बस्नेतद्वारा सुनकोशी–३ मा निर्मित स्वास्थ्य चौकीको भवन उद्घाटन गरिएको स्मरण गराउन चाहन्छु । तर हाल अदालतमा मुद्दा दर्ता भइसकेको अवस्थालाई मध्यनजर गर्दै यस पटकको उद्घाटन सम्बन्धमा गाउँपालिका अत्यन्त स्पष्ट र दृढ छ । गाउँपालिका स्पष्ट रुपमा विशेष अदालतमा मुद्दा दर्ता भएका अभियुक्त व्यक्तिबाट सो भवनको उद्घाटन नगर्न नगराउन आग्रह गर्दछ । साथै, कुनै पनि संघ संस्थाले गाउँपालिकाको लिखित अनुमति बिना उद्घाटन कार्य नगर्नुहुन र जनप्रतिनिधि तथा कर्मचारीले यस्ता कार्यक्रममा सहभागिता नजनाउनुहुन विशेष अनुरोध गर्दछु,’ गाउँपालिका अध्यक्ष तिमिल्सनाले विज्ञप्ति जारी गर्दै भनेका थिए ।

तर गाउँपालिका अध्यक्षको निर्देशन उपाध्यक्षदेखि वडाध्यक्षसम्मले समेत नमानेको पाइएको छ । आजको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्छीमाया लामा, वडाध्यक्ष पुर्णबहादुर महत लगायत जनप्रतिनिधि उपस्थित भएको मोहन बस्नेतको सचिवालयका एक सदस्यले जानकारी दिए ।

गाउँपालिकाले मात्र नभइ एमाले र माओवादी केन्द्रले समेत उक्त कार्यक्रममा नजान आग्रह गर्दै संयुक्त पत्र जारी गरेका थिए ।

‘हामी ठोकर्पा स्वास्थ्यचौकी भवनको उद्घाटन कार्यक्रम तत्काल स्थगित गर्न र सो भवन गाउँपालिका कार्यालयलाई विधि र प्रक्रिया अनुरुप हस्तान्तरण गरी गाउँपालिकाकै संयोजन र नेतृत्वमा उद्घाटन कार्यक्रम तय गर्न सम्बद्ध पक्षहरुको ध्यानाकर्षण गराउँदै कानुनी शासन, पारदर्शिता, जवाफदेहिता र सार्वजनिक सम्पत्तिको सम्मान कायम राख्न समयमै गम्भीरतापूर्वक आग्रह गर्दछौँ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यदी हाम्रो यस स्पष्ट र औपचारिक आग्रहलाई उपेक्षा गरी अभियुक्तको हातबाट उद्घाटन गराउने चेष्टा गरिएमा जनताको तर्फबाट सशक्त प्रतिवादबाट उत्पन्न हुने र सोको सम्पूर्ण राजनीतिक, कानुनी र सामाजिक परिणामहरुको जिम्मेवारी सम्बन्धित निकाय तथा योजनाकारहरुले स्वयं लिनुपर्ने चेतावनी दिन चाहन्छौँ ।’

तर बस्नेतले पालिकादेखि राजनीतिक दलसम्मलाई चुनौती दिँदै स्वास्थ्यचौकी भवन उद्घाटन गरेका हुन् ।

त्यसो त सोमबार उनै बस्नेतले लिसंखु पाखर गाउँपालिकास्थित खानेपानी आयोजनाको उद्घाटन गर्न पुगेका थिए ।

लिसंखुपाखर गाउँपालिका–२ को खानेपानी आयोजना उद्घाटनमा जान लागेका बस्नेतलाई माओवादीले कालोझण्डा देखाउन स्थानीय र माओवादी निकट वाईसीयललाई निर्देशन दिएको थियो । गाउँपालिका अध्यक्ष राजु लामाले सुरुमा सर्कुलर जारी गरे पनि पछि सो क्षेत्रमा निर्वाचित सांसद माधव सापकोटा सुवोधले संयमित हुन निर्देशन दिएको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए ।

‘लिसंखु पाखर गाँउपालिकाको स्थानीय सरकारले सम्पन्न गरेको नाँरगाउँ निगाँले खानेपानी उद्घाटन गर्न लागेका निलम्बित माननीयलाई कालो झण्डा देखाउन हिंडेका वाईसियल र स्थानीयलाई संयमित हुन र ब्याक हट्न नेकपा (माओबादी केन्द्र) का सांसद माननीय माधब सापकोटाको निर्देशन,’ लामाले सामाजिक सञ्जालमा लेख्दै भनेका थिए ।

तर बस्नेतले सोमबार बाजागाजा र सांस्कृतिक कार्यक्रमसहित उक्त खानेपानी आयोजनाको उद्घाटन गरेका थिए ।

यो पनि

मोहन बस्नेतले स्वास्थ्य चौकी उद्घाटन गर्ने भएपछि सिन्धुपाल्चोकमा तरंग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?