जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रूपमा नेपाल स्थापित भएको  छ : डा. आयान बनर्जी

लोकपथ
245
Shares

काठमाडौं । प्राक्टिकल एक्शनका एशिया क्षेत्रीय निर्देशक डा. आयान बनर्जीले सगरमाथा संवादले नेपाललाई जलवायुजन्य जोखिम समुदायको लागि समाधान खोज्ने नेतृत्वकर्ताको रूपमा स्थापित गरेको बताएका छन् । 

विज्ञ बनर्जीले सरोकारवालाहरूलाई एकै स्थानमा ल्याएर हिमालदेखि समुन्द्रसम्मको पारिस्थितिक प्रणालीमा आधारित समाधान खोज्ने प्रयास गर्नु आफैँमा महत्त्वपूर्ण कार्य भएको भन्दै नेपाल सरकारको प्रशंसा गरे । 

नेपाल सरकारले जलवायु परिवर्तन र वित्त सम्बन्धी पहललाई तीव्रता दिँदै बहु–सरोकारवाला संवादको सुरुवात गरी विश्वलाई सकारात्मक सन्देश दिएको विज्ञ बनर्जीले उल्लेख गरे । सगरमाथा संवाद आफैँमा महत्त्वपूर्ण भएको बताए । जलवायु कार्यमा देखिएको स्रोत पहुँचको दूरी कम गर्ने  सवालमा पनि संवादले पैरवी गरेको उनको तर्क थियो । 

संवादमा सहभागी हुन नेपाल आएका डाक्टर बनर्जीले क्षेत्रीय स्तरमा बहस छलफल गर्न सगरमाथा संवाद जस्तो बहु–देशीय र बहु–सरोकारवाला गठबन्धन आवश्यक रहेकोमा जोड दिए । निर्देशक बनर्जीले जलवायु परिवर्तनले निम्त्याएको प्रकोपको गति हाम्रा कार्यभन्दा तीव्र हुने भएकाले पूर्व सूचना प्रणालीलाई अझै विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए । उनले तत्काल जलवायु वित्त सम्मको पहुँच कमजोर भएकोले स्रोत सम्मको  पहुँच र वकालतमा सगरमाथा संवाद जस्ता बहु–सरोकारवाला मञ्चले सकारात्मक र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।   

सगरमाथा संवादले नेपाललाई जलवायु संकटको अग्रपङ्क्तिमा रहेका समुदायहरूका लागि समाधान खोज्ने नेतृत्वकर्ताको रूपमा स्थापित गर्ने अपेक्षा गरेको बताए । 

नवीन प्रविधिहरूले जलवायु संकटको प्रभावलाई न्यूनीकरण गर्ने सम्भावना बोकेको हुने भएकाले एआई लगायतका प्रविधिलाई  समस्या समाधानको हिस्साको रूपमा अघि बढाउन आवश्यक रहेको बताए ।  

प्राक्टिकल एक्शनले विगत लामो समयदेखि नेपालमा जलवायु परिवर्तन, पूर्व सूचना प्रणाली र नवीकरणीय ऊर्जामा काम गर्दे आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?