काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले निर्वाचित जनप्रतिनिधिको भूमिका कमजोर बनाउने प्रयास कुनै पनि बहानामा उचित नहुने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै थापाले सांसद विकास कोषको रकमबारे अनावश्यक प्रचार भइरहेको भन्दै सांसदहरूलाई कोष नभएर योजना सिफारिस गर्ने अधिकार रहेको बताए । उनले समाजमा एकथरी मानिसहरू यस कार्यलाई अलग गर्नुपर्ने भनेर वाहियात छलफल, बुद्धि विलासका साथै पूर्वाग्रही एवं नकारात्मक भाष्य निर्माणमा लागेको आरोप लगाए । ।
उनले भने, ‘निर्वाचन क्षेत्रको विकास प्रक्रियामा सांसदको भूमिकालाई प्रभावकारी, अटुट र अन्योन्याश्रित रूपमा जोड्नु अनिवार्य छ। समाजमा एकथरी मानिसहरू यस कार्यमा सांसदहरूलाई अलग गर्नुपर्ने वाहियात छलफल, बुद्धि विलास र पूर्वाग्राही एवं नकारात्मक भास्य निर्माणमा लागेका भेटिन्छन् । वास्तवमा एक सय ६५ वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसदहरू आआफ्नो क्षेत्र जिल्लाको विकासमा सक्रिय योजना दिने पार्टीको स्पष्ट घोषणापत्र र प्रतिवद्धतासहित मतदाताको विश्वास जितेर निर्वाचित भएको वस्तुगत यथार्थलाई बजेट विनियोजनका क्रममा हेक्का राख्नुपर्छ । सांसदहरूलाई कोष हैन योजना सिफारिस गर्ने अधिकार दिँदा त्यस विरुद्ध किन बकबास गरिन्छ । बजेट सुन्ने छलफल गर्ने र त्यसलाई पारित गर्ने हामी सांसदहरूको संवैधानिक र कानुनी अधिकार नै हो । जन निर्वाचित प्रतिनिधिको भूमिका कमजोर बनाउने कुरा कुनै बहानामा पनि सह्य हुनसक्दैन । यसबाट व्यवस्था विरोधी, अस्थिरतावादीहरु र अराजकतावादीहरु हौसिने तथा अनावश्यक रूपमा आम नागरिक र मतदाताहरू थप असन्तुष्ट बन्ने अवस्थाको अन्त्य हुनुपर्छ ।’
उनले निर्वाचन क्षेत्रका विकास प्रक्रियामा निर्वाचित सांसदको भूमिकालाई प्रभावकारी, अटुट र अन्योन्याश्रित जोड्नु अनिवार्य रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया