काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले सरकारले कर्णालीलाई उपेक्षा गरेको भन्दै गुनासो गरेका छन् ।
हुम्लाको नाम्खा गाउँपालिकामा हिमपहिरोका कारण नागरिकहरु समस्यामा रहे पनि सरकारले त्यसमा उद्धार गर्न नसकेको सांसद शाहीको गुनासो रहेको छ ।
उनले मन्त्रीहरु कर्णाली पुग्दा सरकारी हेलिकप्टरहरु निरन्तर उडिरहने तर विपद्का बेला उद्धारमा प्रयोग नहुने भन्दै कटाक्ष गरे । साथै राज्यमन्त्री समेत सेनाको हेलिकप्टर लिएर हिँड्ने तर कर्णलीका जनता मारमा पर्दा राज्यले नहेरेको भन्दै आक्रोश व्यक्त गरे ।
‘हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नं ६ तिलामा हिमपहिरो गएको छ, अहिलेसम्म सरकारले उद्दार गर्या छैन । सरकारलाई म भन्न चाहन्छु, सरकारको दिमागमा जाम लाग्यो ? कि आँखामा रतन्धो लाग्यो ? कि कानमा ढुसी पर्यो ? कि हेलिकप्टरमा खिया लाग्यो ?,’ सांसद शाहीको प्रश्न थियो, ‘मन्त्रीहरुको सवारी हुँदा सरकारी हेलिकप्टर घुमेको घुम्यै हुने । हुम्लामा हिमपहिरोमा हिमताल फुटेर जनताहरु रोइरहेका छन् तर एउटा हेलिकप्टर पठाउन सक्या छैन यो सरकारले ।’
त्यस्तै हरेक पल्ट सरकारले कर्णालीलाई हेपेको भन्दै कर्णालीलाई देशको भौगोलिक संरचनाबाट हटाएर छुट्टै संरचना बनाइदिएमा आफूहरु राम्रोसँग चलाउन सक्ने समेत चेतावनी दिए । केही दिनअघि सम्पन्न सगरमाथा संवाद चलिरहँदा हुम्लामा हिमपहिरो गएको स्मरण गर्दै उनले जनता समस्यामा रहेको तर सरकार संवादका नाममा बसिरहेको समेत गुनासो गरे ।
‘के कर्णालीलाई हेपेको हो ? यदी हेपेको हो भने म सिधा भन्न चाहन्छु, म निर्वाचित सांसद हुँ कर्णालीबाट । तपाईँ तपाईँ कर्णालीलाई अलग बनाउनुस्, तपाईँ राज्य व्यवस्थाबाट कर्णालीलाई सार्नुस् अन्तै । हामी चलाएर देखाउँछौँ कर्णाली । यस्तो पनि अपराध गर्न हुन्छ ? तपाईँहरु एउटा सामान्य राज्यमन्त्री लगेर घुम्दाखेरी हेलिकप्टर लगेर घुम्नुहुन्छ । तर आज जनता त्यहाँ हिमपहिरो गएर अलपत्र परेका छन् । त्यतिमात्र होइन सगरमाथा संवाद, के को संवाद ? कहाँको संवाद ? कताको संवाद ? हिमपहिरोले मान्छे मरिरहेको छ, उद्धार छैन, यहाँको नाटकबाजी ? म अहिले पनि सरकारलाई अनुरोध गर्न चाहन्छु, संसद्मार्फत् सभामुखले रुलिङ गरुन, कर्णालीका जनता जनता हुन्, यो देशको नागरिक हुन् । आज मैले बोल्ने भाषा पनि कर्णालीको हो,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया