मिटरब्याजका साहु महाजनसँग शीर्ष नेताहरुको साँठगाँठ, सुमनाले उठाइन् प्रश्न

लोकपथ
497
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले मिटरब्याज पीडितको समस्या समाधानका लागि राज्य चुकेको भन्दै प्रश्न उठाएकी छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पूर्व मन्त्री समेत रहेकी सांसद श्रेष्ठले राजनीतिक दलका शीर्ष नेताहरुको संरक्षणमा नै मिटरब्याजका साहु महाजन रहेको भन्दै कटाक्ष गरिन् ।

मिटरब्याज पीडितहरुलाई सिंहदरबारमा प्रवेश समेत नदिइएको सुमनाको आरोप रहेको छ ।

‘मिटरब्याज पीडितले भेट्न जाँदा सिंहदरबारमा नो इन्ट्री भनिएको छ । मिटरब्याज पीडितको समस्या यसरी समाधान हुँदैन । आफ्नो पार्टीको साहु महाजन जोगाउन पीडितमाथि राजनीति नगरौँ । मिटरब्याजमा प्रधानमन्त्री, गृहमन्त्री, मन्त्री, सांसद र नेताहरुको कहीँ भाग छ भनेर शंका उत्पत्ति हुने गरी काम नगरौँ,’ उनले भनिन् ।

त्यस्तै मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि गौरीबहादुर कार्की र तेजबहादुसर कार्की नेतृत्वको आयोगले दिएका सुझाव कार्यान्वयन गर्न समेत आग्रह गरिन् ।

‘मिटरब्याज पीडितले न्याय कहिले पाउँछन् ? श्रीमान गौरीबहादुर कार्कीले दिएका सुझावहरु तथा श्रीमान तेजबहादुर कार्की नेतृत्वको आयोगले बनाइदिएको कार्यविधि स्वीकृत गर्ने भने र कार्यान्वयन गर्ने हो भने ८० प्रतिशत मिटरब्याज पीडितका समस्या समाधान हुन्छ,’ उनले भनिन्, ‘तर त्यसका लागि मान्छे थुन्नुपर्यो, आफ्नो अर्को भन्नु भएन । तर पीडितलाई पीडित बनाइरहेको छ अहिले । कतिन्जेल आन्दोलन गराइरहने ? आयोगमाथि आयोग थप्ने र पीडितको समस्या गिजोल्ने राज्यको नीति कस्तो हो यस्तो ? हिजो मात्र भएको छलफलमा आयोगका अध्यक्षले पीडितले भन्या जस्तो काम गर्न नसक्ने बताएका छन् । यसअघिको आयोगलाई असहयोग गरियो, असफल बनाइयो । अहिले कामचलाउ प्रतिवेदन लेख्न अर्को आयोग गठन भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?