गभर्नर नियुक्ति : ओलीले बोली फेरेपछि रिसाएका देउवाले अब के गर्छन् ? 

लोकपथ
4.2k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको ‘गभर्नर नियुक्तिमा एकपछि अर्को खेल खेलिरहेको’ निष्कर्षमा कांग्रेस नेताहरू पुगेका छन् ।

प्रधानमन्त्री ओली र कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाबिच गभर्नर कांग्रेसलाई दिने सहमति भएपनि ओलीले भित्रभित्रै खेल खेलिरहेको निष्कर्षमा कांग्रेस नेताहरू पुगेका हुन् । त्यसैले कांग्रेसका उच्च तहका नेताहरू प्रधानमन्त्री ओलीको विश्वासमा नपर्न पार्टी सभापति देउवालाई दबाब बढाइरहेका छन् । 

सभापति देउवासहित कांग्रेस नेताहरू सोमबार नै आफूले अघि सारेका उम्मेदवार डा. विश्व पौडेल गभर्नरमा नियुक्त हुने विश्वासमा थिए । तर गभर्नर नियुक्ति गर्ने भनिएको सोमबारको मन्त्रिपरिषद् बैठक नै प्रधानमन्त्री ओलीले स्थगित गरिदिएपछि कांग्रेस सभापति देउवा असन्तुष्ट भएको स्रोतको भनाइ छ । त्यसपछि प्रधानमन्त्री ओलीले बोलाउँदा पनि उनी प्रधानमन्त्री निवास बालुवाटार गएनन् ।

स्रोतका अनुसार, उनी प्रधानमन्त्री निवास नजानुको मुख्य कारण प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकबिच सोमबार अपराह्न सिंहदरबारमा भएको भेटवार्ता नै थियो । सो भेटवार्तामा देउवाका विश्वासपात्र समेत रहेका गृहमन्त्री लेखकले सोमबार नै सिफारिस समितिको बैठक राख्न र मन्त्रिपरिषद्बाट नियुक्ति गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । तर कांग्रेसले गभर्नरका लागि प्रस्ताव गरेका व्यक्ति डा. पौडेलको योग्यतामा प्रधानमन्त्री ओलीले प्रश्न उठाएपछि गृहमन्त्री लेखक नै तीनछक परेका थिए । प्रधानमन्त्री ओलीले डा. पौडेल संसदीय निर्वाचनमा उम्मेदवारसमेत भएको प्रसंग उठाउँदै उनको योग्यतामाथि प्रश्न उठाएपछि गृहमन्त्री लेखकले ओलीलाई विश्वासमा लिन निकै प्रयत्न गरेका थिए । गृहमन्त्री लेखकले गभर्नर र व्यक्तिका विषयमा यसअघि नै दुई नेताबिच पटकपटक छलफल र सहमति भएको प्रसंग सम्झाएका पनि थिए । तर ओलीले सुन्दै सुनेनन् । गृहमन्त्री लेखकले यो कुराको रिपोर्टिङ पार्टी सभापति देउवालाई गरेपछि देउवा आक्रोशित बनेको पनि स्रोतको भनाइ छ । यसैको परिणाम हो– देउवा बालुवाटार नजानु । 

स्रोतका अनुसार, प्रधानमन्त्री ओली पौडेललाई कुनै पनि हालतमा गभर्नर नियुक्त गर्न चाहँदैनन् । पौडेललाई नेपाल राष्ट्र बैंक ऐन २०५८ ले राजनीतिक दलको सदस्य वा पदाधिकारी गभर्नर नियुक्त हुन अयोग्य मानेको ओलीको जिकिर छ । नियुक्ति गरिहाले पनि कानुनी अड्चन आउने उनको ठम्याइ छ । 

ओलीको भनाइ र गराइबाट आजित बन्दै आएका कांग्रेस नेताहरू गभर्नर नियुक्तिको विषयमा आज मंगलबार एक दिन कुर्ने मनस्थितिमा छन् । 

पौडेलको हकमा सर्वोच्च अदालतमा परेको निवेदन दर्ता भएको छैन । पौडेल गभर्नर बन्न अयोग्य रहेको दाबीसहित अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले पेस गरेको रिट सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपिठ गरेकोमा दरपिठको आदेशविरुद्ध रिट निवेदक इजलासमा निवेदन लिएर पुगेका छन् । उनीहरूले पौडेलका सम्बन्धमा पेस गरेको रिट दर्ता हुने कि दरपिठ सदर हुने भन्नेबारे मंगलबार इजलासले नै आदेश गर्ने भएको छ । त्यसैले पनि कांग्रेस नेताहरू आज एक दिन कुर्ने मनस्थितिमा पुगेका हुन् । सोमबार स्थगित गरिएको मन्त्रिपरिषद् बैठक आज राखेर गभर्नर नियुक्ति गरिएन भने ओलीका विषयमा सोच्नुपर्ने अवस्था आउन सक्ने पनि कांग्रेस नेताहरूको भनाइ छ ।

त्यसो त पार्टीका दोस्रो तहका नेताहरूले ओलीले कांग्रेसमाथि गरेको व्यवहारका विषयमा सभापति देउवासँग पटक पटक कुरा उठाउँदै आएका छन् । तर देउवाले प्रधानमन्त्रीको बचाउ र सरकारको पक्षमा खुलेर वकालत गर्दै आएका छन् । तर ओलीको पछिल्लो व्यवहारले देउवा पनि सशंकित बन्न थालेको स्रोतको भनाइ छ । 

स्रोत भन्छ, ‘‘नेकपा एमालेसँग लामो समय काम गर्न सकिँदैन भनी सभापति देउवा मात्रै होइन, अधिकांश नेताले मन बनाइसकेका छन्, तर कांग्रेससँग एमालेको भरपर्दो विकल्प तयार भइनसकेकाले सभापति देउवा निर्णयमा पुग्न सकिरहेका छैनन् ।’

अर्को स्रोतका अनुसार, गठबन्धन फेर्न देउवाले यसअघि पनि प्रयास गरेका थिए । तर विश्वासिलो मत पाउने निश्चित नदेखिँदा रोकिएका हुन् । 

सरकार बनाउनका लागि प्रतिनिधिसभामा १३८ सांसद आवश्यक पर्ने भएपनि विश्वासिलो अंकगणित नभएकाले देउवा अघि नबढेको बताइएको छ । 

गठबन्धन फुटाएर आफ्नो नेतृत्वमा सरकार बनाउन १४९ सांसदले मत दिने देउवाको आकलन भएपनि त्यसमा पूरै विश्वस्त हुन नसकेकाले देउवा अघि नबढेको पनि बताइएको छ ।

स्रोतका अनुसार, एमालेसँगको गठबन्धनबाट अलग भएको अवस्थामा कांग्रेसको ८८ (८९ सांसदमध्ये हालै मोहन बस्नेत निलम्बन), नेकपा माओवादी केन्द्रका ३२, नेकपा (समाजवादी)का १० र संघीय लोकतान्त्रिक मोर्चा (जसपा नेपाल, लोसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी)का १९ गरी १४९ जना सांसदले साथ दिने कांग्रेसको अनुमान छ । तर देउवालाई माओवादी र लोकतान्त्रिक मोर्चालाई सहजै विश्वास गर्न सकिरहेका छैनन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?